भारतले दोस्रो टी-२० क्रिकेटमा आयरल्यान्डलाई ३३ रनले हराएको छ । जितका लागि १ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन बनायो ।
आयरल्यान्डका एन्डी बालबिर्नीले ७२ रनको अर्धशतकीय पारी खेले । यस्तै, मार्क एडैरले २३ रन बनाए भने कर्टिस क्याम्फरले १८ र जर्ज डकरेलले १३ जोडे । भारतका जस्प्रित बुमराह, प्रसिद्ध कृष्णा र रवि विश्रोईले समान २–२ विकेट लिए ।
यस्तै, अर्शदीप सिंहले एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो । भारतका लागि ऋतुराज गायकवाडले ५८ रनको अर्धशतकीय पारी खेले ।
यस्तै, सन्जु स्यामसनले ४०, रिङ्कु सिंहले ३८, शिवम् दुबेले २२ र यशस्वी जैसवालले १८ रन बनाए । आयरल्यान्डका ब्यारी म्याकार्थीले २ विकेट लिए भने मार्क ऐडर, क्रेग योंग र बेन्जामिन ह्वाइटले एक/एक विकेट लिए। जितसँगै भारतले एक खेल अगावै शृङ्खला जितेको छ । पहिलो खेलमा भारत दुई रनले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल पर्सि बुधवार हुनेछ ।