मकवानपुर । मकवानपुरको मकवानपुरगढी र हेटौँडामा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले सो क्षेत्रमा भारी वर्षा मापन भएको भन्दै सर्तक रहन आग्रह गरेको छ ।
विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै पछिल्लो ३ घण्टा भारी वर्षा भएको जनाउँदै सो क्षेत्र भएर बहने कर्रा, सामरी खोला र अन्य स–साना खोलामा आकस्मिक बाढी आउन सक्ने जनाएको छ । विभागले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागका बासिन्दालाई आज दिउँसोसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘पछिल्लो तीन घण्टामा मकवानपुरको मकवानपुर गढी र हेटौँडा वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएकोले सो क्षेत्र भई बहने कर्रा, सामरी खोला र अन्य स–साना खोलामाआकस्मिक बाढी आउन सक्ने भएकोले तटीय क्षेत्र तथा डुवान भइरहने होचा भूभागमा रहनुहुनेले दिउँसोसम्म सतर्कता अपनाऔँ ।’पछिल्लो तीन घण्टामा मकवानपुर गढीमा ७२.६ मिलिमिटर र हेटौँडामा ८१.६ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ ।
कुलेखानी–सिस्नेरी सडकखण्ड अवरुद्ध
यसैबीच गएराति देखिको अविरल बर्षासँगै आएको पहिरोका कारण कुलेखानी सिस्नेरी सडकखण्ड खवरुद्ध भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, भालुडाँडा स्थित कुलेखानी सिस्नेरी काठमाण्डौ सडक खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो ।
लगातार पानी परिरहेकाले अवरोध हटाउँन सकिने अवस्था नरहेको भन्दै मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्याले उक्त सडक खण्ड हुदै जाने सवारी साधनहरुलाई बैकल्पिक बाटो बाटो प्रयोग गर्न आग्रह गर्नुभएको छ ।