आईसीसी पुरुष क्रिकेट विश्वकप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल तालिका परिवर्तन भएसँगै बाँकी आठ वटा खेलको पनि मिति हेरफेर भएको छ । भारत र पाकिस्तानबीचको खेल शुरुमा अक्टोबर १५ तारिखमा अहमदाबादमा हुने भनिएको थियो तर घटस्थापनाको दिन परेकाले सुरक्षालाई ध्यान दिँदै एक दिनअघि अर्थात् अक्टाेबर १४ मा सारिएको आईसीसीले जनाएको छ । १० अक्टोबरमा हुने इङ्ग्ल्याण्ड र बङ्गलादेशबीचको खेलमा मिति नभई समय मात्रै परिवर्तन भएको छ ।
यस्तै पाकिस्तान र श्रीलङ्काबीच अक्टोबर १२ तारिखमा हुने तय भएको खेल अब अक्टोबर १० तारिखमै हुनेछ । अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल पनि एक दिन छिटो अर्थात् अक्टोबर १२ तारिखमा हुनेछ । न्युजिल्यान्ड र बङ्गलादेशबीचको खेल पनि एक दिन पहिले नै अक्टोबर १३ तारिखमा हुनेछ । अक्टोबर १४ तारिखमा हुने तय भएको इङ्ग्ल्यान्ड र अफगानिस्तानको खेल एक दिनपछिका लागि सरेको छ ।
यस्तै अस्ट्रेलिया र बङ्गलादेशबीचको खेल एक दिनअघि सरेर नोभेम्बर ११ तारिखमा हुनेछ । इङ्ग्ल्यान्ड र पाकिस्तानले नोभेम्बर ११ र भारत र नेदरल्यान्ड्सले नोभेम्बर १२ तारिखमा खेल्नेछन् ।
विश्वकप क्रिकेट आउँदो अक्टोबर ५ तारिखदेखि नोभेम्बर १९ तारिखसम्म भारतमा हुँदैछ । विश्वकपका खेल भारतका १० वटा शहरमा हुनेछ । हैदराबाद, अहमदाबाद, धर्मशाला, दिल्ली, चेन्नई, लखनउ, पुने, बेङ्गलुरु, मुम्बई र काेलकातामा खेल हुनेछ ।