मकवानपुर । सामुदायिक वन दिवश २०८० का अवसरमा हेटौंडामा सरोकारवालाहरु बीच अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । डिभिजन वन कार्यालय हेटौंडा र डिभिजन वन कार्यालय राप्ती, (मनहरी) को संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानले सामुदायिक वनलाई उत्पादनको स्रोत बनाउनुपर्ने बताउनुभयो । वन जंगलको संरक्षण गर्दै उत्पादन र रोजगार सृजना गर्ने कुरामा सामुदायिक वनको भुमिका महत्वपूर्ण हुने उहाँको भनाई थियो । उहाँले वन क्षेत्रलाई रोजगारी सिर्जना र आम्दानीको स्रोतका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । उहाँले वनजंगल संरक्षणमा सामुदायिक वनको महत्वपूर्ण भुमिका रहेको समेत बताउनुभयो ।
“उत्पादन, रोजगार र समृद्धिका लागि सामुदायिक वन” भन्ने नाराका साथ यो वर्ष सामुदायिक वन दिवश मनाईएको हो । कार्यक्रममा सहभागिहरुले सामुदायिक वनमा लगाईएको कर, वन व्यवस्थापन, वनको उपयोग, सामुदायिक वनको भूमिकालगायत विषयमा आ–आफ्नो जिज्ञासा राख्नु भएको थियो । कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका उपाध्यक्ष मान कुमारी नेपाली, डिभिजन वन कार्यालय राप्तीका प्रमुख विष्णु प्रसाद आचार्य, वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक कृष्ण प्रसाद दाहाल र सामुदायिक वन उपभोक्ता महासंघ गढी गाउँपालिकाका अध्यक्ष बलराम अधिकारीले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा मकवानपुरका विभिन्न सामुदायिक वनका पदाधिकारीहरु, डिभिजन वन कार्यालयका कर्मचारीहरु, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।