मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका– ५ सिक्रे दोभानमा मंगलबार आएको पहिरोमा मृत्यु हुनेको संख्या चार पुगेको छ । पहिरोमा परी हराइरहेका पाँचमध्ये आज थप तीनजना मृत फेला परेको छ। उद्धारपछि उपचारका लागि लैजाँदै गर्दा हिजो एकजनाको मृत्यु भएको थियो ।
मकवानपुर प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीका अनुसार बुधबार ६० वर्षीय अक्कलबहादुर स्याङ्तान, उनकी २२ वर्षीया छोरी शिला पहरी र डेढ वर्षकी नातिनी दिव्या पहरी मृत अवस्थामा फेला परेका छन् । अक्कलबहादुर र शिलाको शव बुधबार बिहान खोजकर्ताको टोलीले घाटनास्थलबाट १० किलोमिटर दक्षिणमा सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–१ कोकरेस्थित नदीको बीच बगरमा फेला पारेका थिए ।
अक्कलबहादुरका नातिनी दिव्याको शव भने आज साँझ फेला पारिएको खोजी कार्यमा सहभागी स्थानीय सुजन पाख्रिनले जानकारी दिए। पाख्रिनका अनुसार दिव्याको शव घटनास्थलभन्दा झन्डै १२ किलोमिटर पर सिन्धुली जिल्लाको हरिहरपुर गाउँपालिका– ३ बनौलीमा फेला परेको हो ।
यसअघि मंगलबार पहिरोबाट उद्धार गरिएकी अक्कलबहादुरकी श्रीमती शान्तिमाया स्याङ्तानको मृत्यु भएको थियो । उपचारका लागि स्वास्थ्य चौकी लैजाँदै गर्दा मृत्यु भएको थियो । घटनामा परी अझै दुईजना बेपत्ता छन् । बेपत्ता हुनेमा अक्कलबहादुरका २५ वर्षीय ज्वाइँ जीवन पहरी र ४ वर्षका नाति मिलन छन् ।
पहिरोमा परी बेपत्ता भएका सिन्धुलीको हरिहरपुर गाउँपालिका–१ का पासाङ घिसिङलाई बुधबार १२ घण्टापछि जीवितै उद्धार गरिएको थियो । उनको अहिले हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । उनी खतरामुक्त छन् ।











