हेटौंडा, हेर्टौंडा उपमहानगरपालिकाले पालिकाबाट प्रदान गर्दै आएको सेवा वडातहबाट प्रवाह गर्न आवश्यक जनशक्ति व्यवस्थापन मार्फत् सेवा छिटो छरितो बनाउने अभियानलाई तीव्रता दिएको छ । पालिकाले अब २० लाख रुपियाँ बराबरको योजनालाई वडातहबाट लागत इस्टिमेट तयार, सम्झौता, कार्य अनुगमन तथा मूल्याड्ढन गरी फछ्र्यौटसम्म गर्ने गरी प्राविधिक र लेखाको कर्मचारी व्यवस्थापन गर्न लागेको हो ।
आर्थिक वर्ष २०७८÷०७९ सम्म पाँच लाख रुपियाँ बराबरको योजना वडाबाट फछ्र्यौट गर्ने अधिकार प्रदान गर्दै आएको पालिकाले गत आव २०७९÷०८० देखि उक्त अधिकारलाई २० लाख रुपियाँसम्म बढाएको थियो । त्यससंगै प्राविधिक जनशक्ति व्यवस्थापन गरेको पालिकाले चालु आवदेखि लेखाको कर्मचारीसमेत वडावडामा पठाउन लागेको हो ।
बुधबार बसेको ३० औं कार्यपालिका बैठकले खर्च केन्द्र सम्बन्धी जनशक्ति व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको हो । यसअन्तर्गत् पालिकाले अब कम्तिमा दुईवटा वडाको लेखा व्यवस्थापन गर्ने गरी एक जना लेखा अधिकृतको व्यवस्थापन गर्ने पालिकका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । उनका अनुसार यसलाई क्रमशः बढाएर १९ वटै वडामा एक÷एक जना लेखाको कर्मचारी व्यवस्थापन गरिनेछ ।
‘सिंहदरबारको अधिकार गाउँगाउँमा’ भन्ने गणतन्त्र स्थापनापछिको नारालाई सार्थक बनाउन यसले ठूलो भूमिका खेल्ने प्रवक्ता न्यौपानेले बताए । ‘वडामा प्राविधिक र लेखाको कर्मचारी व्यवस्थापनसंगै योजनाहरुको लागत इस्टिमेट तयार, सम्झौता, अनुगमन, कार्य सम्पन्नपश्चात् मूल्याड्ढन र भुक्तानीसमेत वडाबाटै हुन्छ’, प्रवक्ता न्यौपानेका अनुसार योजनाको भुक्तानीको लागि धेरैपटक नगरपालिका धाउनुपर्ने बाध्यताबाट वडाबासीहरु मुक्त हुने भएका छन् ।
यससंगै बुधबारको बैठकले २०७३ फागुनसम्म नगरपालिका कार्यालयबाट साविक १ देखि ११ नम्बर वडाबाट उपलब्ध गराइएका सिफारिसहरुको प्रतिलिपिहरुको ढड्डा सम्बन्धित वडाहरुमा पठाउने निर्णय गरेको छ । यसले साविक गाविसबाट नगरमा मिसिएका र स्थान परिवर्तन भएका वडाहरुको प्रतिलिपि लिन पालिका गएर ढड्डा उतार गरिरहनुपर्ने झन्झटको अन्त्य भएको प्रवक्ता न्यौपानेले बताए ।
चालु आवको स्थानीय दररेट विश्लेषण स्वीकृत गरेको बैठकले २० लाख रुपियाँभन्दा ठूलो परियोजनाहरुमा दुई प्रतिशत कन्टेन्जेन्सी रकम राख्ने, शिक्षा समन्वय इकाई बसेको सिद्धार्थ माविको भवन खाली गर्न पत्राचार गर्ने र पालिकामा सेवा करारमा कार्यरत् कर्मचारीहरुको बीमा गर्ने निर्णय गरेको छ ।
यसैगरी, आवधिक योजना तयार गर्ने लागेको हेटौंडा उपमहानगरले उक्त कार्यलाई सहजीकरण गर्न कार्यदल गठन गर्ने सैद्धान्तिक सहमति दिने निर्णय गरेको प्रवक्ता न्यौपानेले बताए । कार्यपालिका बैठकले हेभी सवारी चालकको रुपमा कार्यरत् रही केही दिनअघि कामको सिलसिलामा निधन भएका कर्मचारी सञ्जु लोप्चनको परिवारलाई पाँच लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता न्यौपानेले जानकारी दिए ।