file photo

सय किलो सुन बरामद प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत र नायब सुब्बालाई निलम्बन गरिएको छ । भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बन गरिएको राजस्व अनुसन्धान विभाग स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार सुनको भन्सार पासमा उनीहरूको संलग्नता देखिएकाले निलम्बन गरिएको हो। अर्का निलम्बित नायब सुब्बाको भने नाम नखुलेको बताइएको छ ।
बुधबार हङकङ हुँदै आएको एक सय केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लाँदै गरेको अवस्थामा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन अनुसन्धान विभागको टोलीले बरामद गरेको हो । बरामद भएको सुन १ सय केजी भनिए पनि सुनको परिमाण एकिन भइसकेको छैन । सुनको एकिन परिमाण थाहा पाउन विभागले सुन जोख्न राष्ट्र बैंक पठाएको हो । विभागले सुन बरामदपछि यस प्रकरणमा संलग्न भरिया र ट्याक्सी चालक तथा भन्सार एजेन्टसहित ६ जनालाई पक्राउ गरिसकेको छ।