मकवानपुर, ११ फाल्गुन । आगामी फागुन २१ गतेको निर्वाचन नजिकिँदै गर्दा मकवानपुरमा तयारी अन्तिम चरणमा पुगेको छ । मतदान केन्द्र व्यवस्थापनदेखि कर्मचारी परिचालनसम्मका काम अन्तिम चरणमा पुगेको प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको हो ।
मतदान केन्द्रको लागि आवश्यक सामग्रीको प्राप्ति र कर्मचारी नियुक्ति पछाडि उनीहरूलाई तालिम दिएर मतदान केन्द्रमा पुग्ने गरी तयारी अन्तिम चरणमा पुगेको कार्यालयका प्रमुख हरि प्रसाद ढकालले बताउनुभयो । “निर्वाचन तयारीको काम लगभग सकिसकेको भन्दै उहाँले जिल्लामा निर्वाचन सुरक्षाको अवस्था सामान्य अवस्था रहेको र सबै मतदाताहरूलाई मतदान केन्द्रमा गएर ढुक्कले मतदान गर्न अनुरोध गर्नुभयो ।

निर्वाचन प्रशासनले जिल्लामा तयारी पूरा भएको बताइरहँदा मतदाताको अपेक्षा भने केवल मतदानमा सीमित छैन । विदेशबाट फर्किएर गाउँमै उद्यम गरिरहेका युवाले नयाँ नेतृत्वसँग व्यवहारिक नीतिको माग गरेका छन् । मकवानपुरगढी गाउँपालिकाका प्रेम तिमल्सिना, जो केराको बोक्राबाट हाते कागज उत्पादन गर्दै हुनुहुन्छ, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउनुहुन्छ । नेपालमा उत्पादनभन्दा आयातमा निर्भरता बढ्दो रहेको प्रति भने उहाँको चिन्ता देखिन्छ । “हामीकहाँ कच्चा पदार्थ छ, तर तयारी सामान विदेशबाट ल्याउँछौँ,” उहाँ भन्नुहुन्छ ।
केराको पकेट क्षेत्र रहेको आफ्नो गाउँमा केरा काटेपछि फालिने बोक्रालाई प्रशोधन गरी कागज उत्पादन गर्न सकिने सम्भावना देखेपछि उहाँले उद्योग सुरु गर्नुभएको हो । मल, रेशा र कागज जस्ता उत्पादनमार्फत फोहोरलाई आम्दानीमा रूपान्तरण गर्ने उहाँको प्रयास अहिले विस्तारको चरणमा छ । मेहनत र लगनशीलताले कुनै पनि काम सफल बनाउन सकिने विश्वास गर्नुहुने उहाँले अब विदेश नफर्किने र यही व्यवसायलाई व्यवस्थित रूपमा विस्तार गर्ने योजना रहेको सुनाउनुभयो । तर उद्यम यात्रा सहज नभएको पनि उहाँ बताउनुहुन्छ । उद्योग दर्ता, कर संरचना, कच्चा पदार्थ व्यवस्थापन र बजार पहुँच जस्ता विषयमा जटिलता रहेको उहाँको अनुभव छ । विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्दा स्थानीय उत्पादन महँगो पर्न जाने समस्या पनि रहेको उहाँ बताउनुहुन्छ । “उत्पादन गर्छौँ, तर बजार सुनिश्चित छैन,” उहाँको भनाइ छ । आगामी निर्वाचनबाट स्वदेशी उत्पादनलाई प्राथमिकता दिने र साना उद्यमीलाई सहुलियत दिने नीति आउने अपेक्षा उहाँले राख्नुभएको छ ।

यस्तै, भिम्फेदी गाउँपालिका–५ का मनोज कठायत दुई वर्ष विदेशमा होटेल क्षेत्रमा काम गरेर फर्कनुभएको हो । विदेशमा सिकेको सीप र सेवा व्यवस्थापनको अनुभवलाई उहाँले आफ्नै गाउँको होमस्टे व्यवसायमा प्रयोग गरिरहनुभएको छ । “विदेश अन्तिम विकल्प होइन,” उहाँ भन्नुहुन्छ, “सानो लगानी र स्पष्ट योजना भए गाउँमै पनि सम्भावना छ ।”उहाँले भन्नुभयो । उहाँका अनुसार विदेशमा काम गर्दा सिकिएको अनुशासन, सरसफाइ, सेवा शैली र व्यवस्थापन पद्धति यहाँको व्यवसायमा उपयोगी भएको छ । तर नीति अस्थिरता र प्रक्रियागत झन्झटले साना व्यवसायीलाई अप्ठ्यारो पार्ने गरेको उहाँको भनाइ छ ।
स्थिर नीति र सीप विकास कार्यक्रमको अपेक्षा राख्नुहुन्छ । अब बन्ने सरकारले युवालाई आकर्षित गर्ने र परिवारसँगै बसेर सहज रूपमा उद्यम गर्ने वातावरण सृजना गरोस् भन्ने उहाँको अपेक्षा छ । पटक–पटक नियम परिवर्तन हुँदा लगानीकर्ता अन्योलमा पर्ने गरेको अनुभव सुनाउनुहुँदै उहाँले अब बन्ने सरकारले सीपमूलक तालिम र सहुलियत कर्जा दिए थप युवा फर्केर उद्यम गर्न सक्ने धारणा राख्नुभयो ।
उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका प्रमुख रामप्रसाद भुसालका अनुसार पछिल्लो समय विदेशबाट फर्केर घरेलु उद्योग दर्ता गर्ने युवाको सङ्ख्या बढ्दो छ । तर सरकारी प्रक्रियाका कारण युवाहरू निराश हुने गरेको उहाँले बताउनुभयो । उद्यमीहरू प्रक्रियागत जटिलता र बजार पहुँचलाई मुख्य चुनौतीका रूपमा लिने गरेको र सरकारले यसमा सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । लघु उद्यमीहरूलाई सहुलियतपूर्ण लगानी र बजार व्यवस्थापनमा ध्यान दिनुपर्ने उहाँको धारणा छ ।
फागुन २१ को चुनाव प्रेम र मनोजजस्ता युवाका लागि केवल मतदान मात्र नभई आफ्ना उद्यमको भविष्यसँग जोडिएको विषय बनेको छ । आगामी निर्वाचनपछि बन्ने नीतिमा स्वदेशी उत्पादनलाई संरक्षण गर्दै गाउँमै सम्भावना खोज्ने युवालाई साथ देओस् भन्ने उनीहरूले चाहना राखेका छन् । उनीहरूको ध्यान केवल मतदानमा होइन, उद्यमलाई टिकाउने र सुरक्षित बनाउने नीतिमा पनि केन्द्रित देखिन्छ ।