मकवानपुर । मकवानपुर प्रहरीले १४९८ एम्पुल विभिन्न लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । बिहीबार राति पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५, रातोमाटेबाट १४९८ एम्पुल विभिन्न लागुऔषधसहित धनुषाका १८ वर्षीय सागिर खानलाई पक्राउ गरेको हो ।
रातोमाटे चेकपोष्टमा वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बा प्र ०३–००१ ख २३९८ नम्बरको यात्रु बाहक बसलाई सुरक्षाजाँच गर्दा बसको डिक्कीमा रहेको झोलामा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले झोलाबाट डाईजेपाम ५ सय एम्पुल, नोर्फिन ५ सय एम्पुल र फेनार्गन ४९८ एम्पुल बरामद गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका खानलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।