आईसीसी क्रिकेट विश्वकप २०२३ मा भारत र पाकिस्तानबीचको खेल एक दिन पहिले हुने भएको छ । समाचार एजेन्सी एएनआईले ईएसपीएन क्रिकइन्फोलाई उद्धृत गर्दै भनेको छ– अब यो खेल अक्टोबर १५ को सट्टा अक्टोबर १४ तारिकमा हुनेछ ।
अक्टोबर १५ नवरात्रिको पहिलो दिन (घटस्थापना) हो । त्यसैले सुरक्षा निकायको सल्लाहमा भारत–पाकिस्तान खेलको मिति परिवर्तन गर्न दुवै देश सहमत भएका हुन् । आईसीसीले परिमार्जित तालिका सार्वजनिक नगरे पनि पाकिस्तान क्रिकेट बोर्ड यो परिवर्तन गर्न सहमत भएको खबरमा उल्लेख छ । यो खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । भारत र पाकिस्तानबीचको खेल तालिका परिवर्तनले पाकिस्तानको यसअघि श्रीलङ्कासँगको खेल पनि प्रभावित हुनेछ । यो खेल पहिले नै तय गरिएको हैदराबाद स्टेडियममा हुनेछ तर अक्टोबर १२ को सट्टा अब अक्टोबर १० मा गर्ने तयारी भएको छ ।