प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले अहिले सरकारमा जाने कुनै मनसाय नरहेको बताउनुभएको छ । कांग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चा भइरहँदा ओलीले आफ्नो पार्टीले अहिले सरकारमा जाने सोच नबनाएकाे उल्लेख गर्नुभएकाे हाे ।
मङ्गलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टीको बाग्मती प्रदेश सङ्गठन कमिटीको बैठकमा उहाँले एमाले सरकार बनाउने, जाेगाउने कुनै पनि गन्तव्य नभएको खेलमा सहभागी नहुने बताउनुभयो । ओलीले आफ्नो पार्टी २०८४ सालको चुनावमा एक्लै बहुमत ल्याउने मिसनमा लागेको दाबी गर्नुभयाे । उहाँले सरकार र सत्तारूढ दलहरूले झुट बोल्ने बाहेक केही पनि काम गर्न नसकेको आरोपसमेत लगाउनुभयो ।

ओलीले भन्नु भयो, ‘हामीलाई सरकारमा जान हतारो नभएको मात्रै होइन, अहिले हामी सरकारतिर हेरेका पनि छैनौँ । त्यतातिर सोचेका पनि छैनौँ । हामी ग्रासरुटमा लाग्यौँ । अब मिसन २०८४, मिसन ५१ पर्सेन्ट ।’
अध्यक्ष ओलीले संविधान र कानुन बमोजिम रद्द भइसकेको मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयकलाई ल्याउने भनेर सरकारले झुट कुरा गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले त्याे विधेयक समयमा संसदमा नल्याउने अनि आफूले नै त्याे समस्याको समाधान गर्ने भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकमाथि छल हुने गरी माइतीघर मण्डलामा अभिव्यक्ति दिएको पनि बताउनुभयो । ओलीले इमान र निष्ठाका साथ देश र नागरिकको पक्षमा काम गर्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयाे ।