मकवानपुर – मकवानपुरका पालिकाहरू आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहितको गाउँ तथा नगर परिषद् गर्ने तयारीमा जुटेका छन् । हेटौंडा उपमहानगरपालिका सहित १० वटा पालिकाहरू अहिले गाउँ तथा नगर परिषद् गर्नका लागि आन्तरिक गृहकार्यमा जुटेका हुन । असार १५ गते भित्रमा गाउँ तथा नगर परिषद् गर्नुपर्ने प्रावधान भए अनुसार पालिकाहरूले परिषद् बैठकको तयारी गरेका हुन् ।
त्यस्तै, हेटौंडा उपमहानगरपालिका पनि नगर परिषद् गर्नका लागि आन्तरिक तयारीमा जुटेको छ । उपमहानगरपालिकाले नगर परिषद्मा पेश गर्ने बजेट निर्माण गर्ने कार्यलाई तीव्रता दिएको छ । हेटौंडा उपमहानगरपालिकाको नगर परिषद् आगामी असार १० गते गर्ने निर्णय भएको जनाईएको छ ।
नेपालको नयाँ संविधान २०७२ जारी भएपछिको पहिलो कार्यकाल पालिकाहरूले काम गरेको र दोस्रो कार्यकालका लागि निर्वाचित भएका जनप्रतिनिधिहरूमा नयाँ जोस एवम् जाँगर भएकाले यस पटकको नगर तथा गाउँ परिषद्लाई ऐतिहासिक बनाउने तयारी भइरहेको छ । हेटौंडा उपमहानगरपालिकाको समग्र विकासमा केन्द्रित भएर नगरको नीति तथा कार्यक्रम सहितको बजेट ल्याउने तयारीमा हेटौंडा उपमहानगरपालिका जुटेको मेयर मिना कुमारी लामाले बताउनुभयो ।
हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि बजेट सिलिङमा वृद्धि गरेको छ । १९ वटै वडालाई अघिल्लो आर्थिक वर्षहरुको तुलनामा ५ करोड ७० लाख रुपियाँ सिलिङ बजेट थप्ने भएको छ । चालु आर्थिक वर्षमा वडा तहमा तोकिएको सिलिङमा बजेटले विकास निर्माणको काममा असहज भएको भन्दै नवनिर्वाचित नगर प्रमुख मिनाकुमारी लामाले १९ वटै वडाको सिलिङमा ३०/३० लाख रुपैयाँ वृद्धि गरिएको जानकारी दिनुभयो । गत जेठ २६ गते बसेको स्रोत अनुमान समितिको बैठकले प्रति वडा ३०/३० लाख रुपैयाँ सिलिङमा थप गरेर पठाउने निर्णय गरेको उहाँले बताउनुभयो ।
थपिएको सिलिङ अनुसार वडा नम्बर १, १२, १३, १४ ,१५, १६ र १७ मा २ करोड १० लाखका दरले बजेट सिलिङ तोकिएको छ । भने, वडा नम्बर २, ४, ५, ६, ७, ८, ९, १० र ११ मा १ करोड ८५ लाख रुपैयाँ का दरले बजेट तोकिएको उहाँले बताउनुभयो । यस्तै वडा नम्बर १८ मा २ करोड २५ लाख र वडा नम्बर १९ भने २ करोड ५० लाख रुपैयाँको बजेट सिलिङ ताेकेर पठाइएकाे उहाँले बताउनुभयो ।