मकवानपुर । मकवानपुरका ५ वटा स्थानीय तहले अझै बजेट विवरण प्रविष्ट गरेका छैनन् । जिल्लाका १० पालिका मध्ये ५ वटा स्थानीय तहले बुधबार बिहानसम्म आ–आफ्नो गाउँ तथा नगर सभामा पेस गरेको बजेट विवरण प्रविष्ट गरेका छैनन् ।
पालिकाले आ–आफ्नो गाउँ तथा नगर सभामा पेस भएको बजेटलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेट विवरण पोर्टलमा प्रविष्ट गर्नुपर्ने हुन्छ । आज बिहान सम्मको विवरण अनुसार अझै ५ वटा पालिकाले बजेट विवरण प्रविष्ट गर्न बाँकी रहेको छ । मन्त्रालयले यसअघि नै पालिकालाई बजेट विवरण प्रविष्ट गर्न परपत्र गरेपनि अझै ५ वटा पालिकाले विवरण प्रविष्ट गर्न बाँकी छ । मन्त्रालयको परिपत्र अनुसार जिल्ला समन्वय समितिले समेत स्थानीय तहहरुलाई बजेट प्रविष्ट गर्न पत्रचार गरे पनि पालिकाले बजेट प्रविष्ट नगरेको जिल्ला समन्वय समिति मकवानपुरले जनाएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा १ अनुसार स्थानीय तहले आउँदो आर्थिक वर्षको राजस्व र व्यय कार्यपालिकाबाट स्वीकृत गराइ असार १० गतेभित्र सभामा पेस गर्नुपर्ने व्यवस्था छ । सभामा पेस भएको बजेटलाई मन्त्रालयको पोर्टलमा प्रविष्ट गर्न मन्त्रालयकाे अनुरोधलाइसंगै जिससले समेत पत्राचार गरेकाे जिसस मकवानपुरकी शाखा अधिकृत सुनिता कुमारी गजुरेलले बताउनुभयो । मकवानपुरको बागमती गाउँपालिका बहेक सबै पालिकाले तोकिएको मिति असार १० गतेभित्र आ–आफ्नो सभामा आउँदो वर्षको नीति, कार्यक्रम र बजेट पेस गरेका थिए । तर, ती पालिकाहरुले बजेट प्रविष्ट भने नगरेको उहाँले बताउनुभयो । मन्त्रालयकाे पार्टलमा भएकाे विवरण अनुसार १० मध्ये ५ बटा पालिकाकाे बजेट सभामा पेश भएकाे छ, भने ३ वटाकाे मात्र नीति कार्यक्रम र बजेट सभाबाट पास भएकाे देखिन्छ ।
असार १० गतेभित्र सभामा बजेट पेस गर्न नसक्ने पालिकाले कार्यसम्पादनमा आधारित सूचकबाट पाउने वित्तीय समानीकरण अनुदान अन्तर्गत कार्यसम्पादन सूचकमा आधारित अनुदान घट्ने गजुरेलले बताउनुभयो । पालिकाले पाउने अनुदानका लागि आयोगले १७ वटा सूचक बनाएको छ । तीमध्ये एउटा सूचक असार १० गतेभित्र सभामा बजेट पेस गर्नुपर्ने र अर्को असार मसान्त भित्रै पारित गर्नुपर्ने उल्लेख छ । गएको वर्ष पनि केही पालिकाले समयमा बजेट ल्याउन सकेका थिएनन् ।