मकवानपुर,२० पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) मकवानपुरले ९ जनाको नाम सिफारिस गरेको छ । शनिबार बसेको छुट्टाछुट्टै बैठकले दुई निर्वाचन क्षेत्रका लागि ९ जनाको नाम सिफारिस गरेको हो ।

पार्टीले मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट सातजना र क्षेत्र नम्बर–२ बाट दुईजनाको नाम सिफारिस गरेको हो । प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र नम्बर–१ को बैठकले केन्द्रीय सदस्य रामेश्वर राना र एकालाल श्रेष्ठ, जिल्ला उपाध्यक्ष हिदम लामा, पार्टी नेताहरू मदनकुमार दाहाल, कृष्णप्रसाद दाहाल, रामचन्द्र राई र नारायण सापकोटाको नाम सिफारिस गरेको छ ।
त्यसैगरी, मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ को बैठकले एमाले केन्द्रीय सदस्य तथा निवर्तमान सचेतक महेश कुमार बर्तौला र पार्टी नेता सुवासचन्द्र ठकुरीको नाम सिफारिस गरेको छ । सिफारिस भएका नामहरू जिल्ला कमिटी, प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा पठाइने र पार्टीको अन्तिम निर्णयअनुसार प्रतिनिधिसभा सदस्यका उम्मेदवार छनोट गरिने एमाले मकवानपुरले जनाएको छ ।