उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनका लागि सरकारले देशभरका ११ ठाउँमा मानवीय सहायता स्थल र आपत्कालीन भण्डारणको स्थापना गरेको बताउनुभएको छ । बिहीवार दिगो विकास तथा सुशासन समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले याे जानकारी दिनुभएकाे हाे ।
उहाँले विपद् व्यवस्थापनका लागि सरकारले २३ वटा इन्फेटेबल डुङ्गा र पाँच वटा इन्जिनसहितको डुङ्गा तयारी अवस्थामा राखेको पनि बताउनुभयो । उहाँले आवश्यक पर्ने विभिन्न प्रकारका खोज तथा उद्धार सामग्री, एम्बुलेन्स बस, सामान्य एम्बुलेन्स, अग्नि नियन्त्रण यन्त्रसहितका सामग्री खरिद गरी जिल्ला सुरक्षा परिषदमा पठाइसकेको बताउनुभयो ।
मन्त्री श्रेष्ठले हवाई उद्धारका लागि कोशी र मधेस प्रदेशका लागि इटहरीमा एक, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि सुर्खेतमा एक तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा काठमाण्डाैमा एक गरी तीन वटा हेलिकप्टर तयारी अवस्थामा राखिएको बताउनुभयो । गृहमन्त्रीले विपद् व्यवस्थापनका लागि सरकारले मनसुन अवधिका लागि कमान पोस्ट गठन गरेको पनि जानकारी दिनुभयाे ।