मकवानपुर– नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेको सन्दर्भमा मकवानपुरका पर्यटकीय स्थानको जानकारी दिने र आन्तरिक तथा बाह्य पर्यटकलाई सहजीकरण गर्ने उद्देश्यका साथ यो सङ्क्षिप्त धार्मिक पर्यटकीय स्थानहरूको चिनारी प्रस्तुत गरेका छौं । जसका माध्यमले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा अवस्थित कुष्माण्ड सरोवर र १०८ गौमुखी धाराको बारेमा बुझ्न र घुम्न सहज होस भन्ने हाम्रो धारणा हो ।

हेटौडा उपमहानगरपालिका वडा नम्बर ९ को पश्चिम र साविक पदमपोखरी गाविसको पूर्वी भागमा रत्नावति, कर्णावती र कौशवाही (चुरे पर्वतको कुसको जंगलबाट उत्तर वगेको) नदिको संगम स्थलमा कुष्माण्ड सरोवर अवस्थित रहेको छ । तीन नदिको संगममा बसेर कुष्माण्ड भगवतीले तपस्या गरी सिद्धि प्राप्त गरेको भनि स्कन्द पुराणको हिमवत खण्डको ७६ औं स्लोकमा उल्लेख भएको हुँदा यस पवित्र भूमिमा कुष्माण्ड भगवतीको सहित १०८ गौमुखि धारा स्थापना गरिएको छ । यहाँ माघ स्नान गर्ने र कार्तिक महिनामा कुभिण्डो दान गर्ने चलन छ ।

साढे सात बिघा जमिनमा फैलिएको धार्मिक स्थलमा कुष्माण्ड भगवतीको मन्दिर, गणेश मन्दिर, ब्रह्मकुण्ड, विष्णुपादुका, १०८ गौमुखी धारा, कुष्माण्ड भगवतीबीचमा रहेको सरोवर, शिवालय, राधाकृष्ण मन्दिर, हवन कुण्डलगायत सुन्दर बगैँचा बनाइएका छन् । हामी मकवानपुरमा हरेक पर्यटकिय स्थलहरुको जानकारी निरन्तर प्रस्तुत गर्दै जाने छौं ।