नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज शुक्रवार संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानन्यायाधीशमा नियुक्त हुनुभएका कार्कीले आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपतिसँग पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि आज कार्कीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो । आठ महिनायता कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहनुभएका कार्की आउँदो साउन २० गते सेवानिवृत्त हुनुहुने छ । कार्की २०७३ सालको साउन १७ गते सर्वोच्चको न्यायाधीश बन्नुभएको थियो । सपथ ग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, संवैधानिक निकायमा प्रमुख, सुरक्षा निकायका प्रमुख र विशिष्ट पदाधिकारीको उपस्थिति रहेको थियो ।
संवैधानिक परिषद्ले उहाँलाई गत वैशाख २५ गते नेपालको प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्दै संसदीय सुनुवाइ गर्न सङ्घीय संसद् समक्ष पठाउने निर्णय गरेको थियो । समितिले आज उहाँको कार्ययोजना र उहाँ विरुद्ध प्राप्त उजुरीमाथिको छलफल र प्रश्नोत्तरपछि प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सर्वसम्मत अनुमोदन गरेको थियो ।