स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ९ जिल्लाका बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउन सुरु गरेको छ । स्वास्थ्य सेवा विभागले आजदेखि सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर, बाजुरामा ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाउने भएको हो ।
देशका विभिन्न जिल्लामा दादुरा महामारी देखिएको र महामारी अन्य जिल्लामा फैलिन सक्ने जोखिम रहेकोले बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप दिइन थालिएको हो । यसअघि नेपालमा १३ जिल्लामा दादुरा रुवेला रोगको संक्रमण देखिएको थियो । दादुरा रुवेलारोग कोरोना भाइरसभन्दा पनि तीव्र गतिले फैलिने र मृत्युदर पनि उच्च रहेको छ । एक जना दादुरा सङ्क्रमितले १८ जनासम्म रोग सार्न सक्छ । मन्त्रालयले यसअघि जति पटक खोप लगाए पनि अभियानका क्रममा नजिकैको स्वास्थ्य संस्थामा गई आफ्ना बालबालिकालाई खोप लगाउन अभिभावकलाई आग्रह गरेको छ ।