मकवानपुर । नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत मकवानपुरमा ३८६ विपन्न परिवारको घरको छानो फेरिने भएको छ । जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतका हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, राक्सिराङ र कैलाश गाउँपालिकामा ३८६ घरमा खरको छानो विस्तापित गरेर जस्ताको छानो लगाइने भएको हो ।
शनिबार जिल्ला समन्वय समिति मकवानपुरमा बसेको बैठकले निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतका ३८६ लाभग्राही संख्या निर्धारण भएको हो । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का सांसद महेश बस्नेतको संयोजकत्वमा बसेको बैठकले क्षेत्र नम्बर २ अन्तर्गत हेटौंडा उपमहानगरपालिका क्षेत्रको वडा नम्बर १, ३, ११ र १९ मा ५९ घर, थाहा नगरपालिकामा ११२ घर, राक्सिराङ गाउँपालिकामा ११५ घर र कैलाश गाउँपालिकामा १०० घर सुरक्षित नागरिक आवास निर्माणका लागि निर्धारण गरिएको छ । यस अघि बसेकाे बैठकले साेही क्षेत्रमा ४७० घरकाे छानाे फेर्ने निर्णय गरेकाे थियाे । यस संगै आर्थिक वर्ष २०७९–८० मा साे क्षेत्रमा कुल ८५६ घरकाे छानाे फेरीने भएकाे हाे ।

बैठकले नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयन पहिलो संसोधन २०७६ को अनुसुचि २ बामेजिम तोकिएका पालिकाका लाभग्राहीसंग सम्झौता गरि कार्यान्वयन गर्ने निर्णय गरेको छ । बैठकले सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयन पहिलो संसोधन अनुसार र्निधारण गरिएका प्रत्येक घरधुरीलाई ७५ हजारका दरले रकम उपलब्ध गराउने निर्णय गरेको हो । मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद मशेश बर्तौलाको संयोजनमा बसेको बैठकमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बशादुर घलान, हेटौंडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामा, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, कैलाश गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तान लगायतकाको सहभागिता रहेको थियो ।