मकवानपुर – बागमती प्रदेश युवा परिषद्ले विदेशबाट फर्किएकाहरुको युवा सञ्जाल गठन गरेको छ । प्रदेशका १३ जिल्लाका युवाहरुको सहभागितामा शनिबार हेटौंडामा आयोजित भेलाले दोलखाका हरि खत्रीको अध्यक्षतामा ३३ सदस्य युवा संजाल गठन गरेको हो ।

बागमती प्रदेश प्रदेश युवा परिषद्ले फरक सोँच र क्षमता भएका युवाहरुलाई रोजगारी, उद्यमशीलता प्रवर्धन र उत्पादनमा जोडी स्वदेशमानै आत्मनिर्भर भई विदेश पलायनलाई न्यूनीकरण र उत्प्रेरित गर्ने उदेश्यका साथ सञ्जाल गठन गरिएको परिषदका उपाध्यक्ष सन्तोष चौलागाईले बताउनुभयो । युवा परिषद्को सूचना अनुसार प्रदेशका १३ जिल्लाबाट अनलाइन तथा कार्यालयमा उपस्थित भै आवेदन दिएका मध्ये १०० जनाको उपस्थितिमा सञ्जाल गठन गरिएको हो । नवगठित सञ्जाललाई परिचालन गर्ने गरि शनिबार अभिमुखिकरण समेत प्रदान गरिएको उहाँले बताउनुभयो ।
प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष चालागाईको सभाअध्यक्षता एवम् बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तानको प्रमुख आतिथ्यतामा भएको अभिमुखिकरण र परिचालन कार्यक्रममा मन्त्री मुक्तानले विदेशबाट फर्किएर स्वदेशमा नै केही गर्ने लक्ष्य र योजना भएको युवाहरुलाई स्वदेशमा नै उद्यमशील र रोजगारी दिने योजना तथा कार्यक्रम आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा परिषद्का कार्यकारी उपाध्यक्ष चौलागाईले सञ्जालको आवश्यकता र वैदेशीक रोजगारीबाट फर्किएका (रिटरणी) हरुको ज्ञान, सीप, पूँजीलाई राष्ट्रिय समृद्धिमा जोड्ने माध्यमका रुपमा प्रदेश युवा परिषद्ले काम गर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय युवा परिषद् (रिटरनी सञ्जाल) का संस्थापक महासचिव लक्ष्मी प्रसाद आचार्यले सहजीकरण गर्नुभएको थियो ।