मकवानपुर – मदन भण्डारी फाउण्डेशन मकवानपुरले जननेता मदन भण्डारीको ३०औं स्मृति दिवश विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । मदन भण्डारी फाउण्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा आज बसेको बैठकले यहि जेष्ठ ३ गते जननेता भण्डारीको ३०औं स्मृती दिवश विभिन्न कार्यक्रम गरेर मनाउने निर्णय गरेको हो ।
बैठकले जेष्ठ ३ गते जननेता भण्डारीको स्मृती दिवशका अवसरमा हेटौंडा–११, सहिद स्मारकमा श्रद्धञ्जली सभा आयोजना गर्ने निर्णय गरेको अध्यक्ष खुलालले बताउनुभयो । यस्तै सोहि दिन हेटौंडा–११, स्थित मामाघर नेपालमा आश्रित भाञ्जाहरुलाई बिहान, बेलुकाको खाना खुवाउने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
त्यस्तै बैठकले मदन भण्डारी फाउण्डेशन मकवानपुरका संस्थापक अध्यक्ष स्व. श्रीचन्द्र शर्माको नाममा स्थापित “श्रीचन्द्र शर्मा स्मृति पुरस्कार” वितरणका लागि फाउढडेशनका सचिव बोलबहादुर कार्कीको संयोजकत्वमा मुकुन्द अधिकारी र दिलु घर्ती सदस्य रहने गरि छनौट तथा सिफारीस समिति गठन गरेको खुलालले बताउनुभयो । लोकतान्त्रिक आन्दोलनमा फाउण्डेशनका संस्थापक अध्यक्ष शर्माको योगदानलाई जिवन्त राख्न स्थापित पुरस्कार मकवानपुरे लोकतान्त्रिक अन्दोलनमा बिशिष्ट योगदान पु¥याएका व्यक्तिलाई प्रदान गर्ने गरिएको छ । फाउण्डेशनले अक्षयकोष नै स्थापना गरेर पुरस्कारको व्यवस्था गरेको छ । यस अघि उक्त पुरस्कारबाट नेपालको पहिलो मजदुर आन्दोलनदेखि हालसम्म पनि विभिन्न कम्युनिष्ट आन्दोलनमा देश र जनाताका लागि अतुलनिय योगदान पु¥याउनु भएका बम बहादुर लामा लाई प्रदान गरिएको थियो ।
त्यस्तै आजको बैठकले मदन भण्डारी फाउण्डेशनले प्रदान गर्ने २०७९ सालको मदन भण्डारी राष्ट्रिय पुरस्कार र मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कारका लागि मकवानपुरका दुईवटा संस्थालाई सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले यी दुबै पुरस्कारका लागि मामाघर नेपालका संरक्षक अर्पण पराजुली र त्रिवेणीधाम विकास समितिका संस्थापक अध्यक्ष ईश्वरी प्रसाद न्यौपानेको नाम सिफारिस गर्ने निर्णय गरेको अध्यक्ष खुलालले बताउनुभयो । यस्तै आजको बैठकले फाउण्डेशन मकवानपुरका उपाध्यक्ष आशाकाजी श्रेष्ठको सिघ्र पूर्ण स्वास्थ्य लाभको कामना गर्ने पपनि निर्णय गरेको उहाँले बताउनुभयो ।