मकवानपुर । बागमती प्रदेशस्तरीय राष्ट्रपति उत्कृष्ट कृषक पुस्कारबाट ५ जना पुरस्कृत हुनु भएको छ । बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास निर्देशनालयले राष्ट्रपति उत्कृष्ट कृषक पुस्कारबाट ५ जना कृषकहरुलाई नगद पुरस्कारसहित सम्मानीत गरेको हो ।
निर्देशनालयले आईतबार हेटौंडामा एक कार्यक्रमको आयोजना गर्दै बीएण्डबी केरा फार्म सञ्चालन गरिरहनु भएका चितवनको रत्ननगर नगरपालिका–१२ का विष्णुहरि पन्तलाई पुरस्कारबाट पुरस्कृत गरेको छ । यस्तै जनजीविका कृषि तथा पशु फार्म सञ्चालन गरिरहनु भएका ललितपुरको बागमती गाउँपालिका–१ का गोविन्द गौतम द्वितीय र सरोज कृषि फार्म सञ्चालन गरिरहेका चितवनको माडी–६ का सरोज साह तेलीलाई तृतीय पुरस्कार प्रदान गरिएको छ । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ७० हजार रुपैयाँ, ६० हजार रुपैयाँ र ५० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको छ ।
यस्तै, कुसदेवी कृषि फार्म सञ्चालन गरिरहनु भएका काभ्रेको पनौती–२ का रमेश आचार्य र बिश्रुदेवी एग्रिकल्चर फार्म सञ्चालन गरिरहनु भएका चितवनको भरतपुर महानगरपालिका–१७ का विष्णुबहादुर विश्वकर्मालाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ । सान्त्वना दुई जनालाई जनही ४० हजार रुपैयाँ नगद र सम्मानपत्रसहित सम्मान गरिएको निर्देशनालयका निमित्त प्रमुख तेजप्रसाद दुवाडीले जानकारी दिनुभयो ।
बागमती प्रदेश सरकारको प्रादेशिक राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारका लागि प्रदेशका १२ जिल्लाबाट उत्कृष्ट हुनु भएका ३६ जना कृषकहरुको मूल्यांकन र स्थलगत अवलोकन गरी ५ जना कृषकलाई छनौट गरिएको हो । प्रथम हुनुभएका कृषक पन्तले २८ बिघा जग्गमा केरा खेती गरेर वार्षिक पौने दुई करोडको कारोबार गर्ने गरेको मन्त्रालयले जानकारी दिएको छ । भने, द्वितीय हुने कृषक गौतमले २५ रोपनी जमिनमा किवी, जापनिज हलुवावेद, एभोकाडोसँगै विभिन्न जातका फलफूल र तरकारीको खेती र तृतीय हुनु भएका तेलीले १० बिघा जमिनमा पोखरी बनाएर माछा पालन गर्नुका साथै १५० वटा खसीबाख्रा पालन गरेर वार्षिक डेढ करोडबराबरको कारोबार गर्दै आउनु भएको मन्त्रालयले जनाएको छ । उहाँहरुलाई निमित्त प्रमुख दुवाडी र बागमती प्रदेश कृषि मन्त्रालयका सचिव शरणकुमार पाण्डेले पुरस्कार प्रदान गर्नुभएको थियो ।












