भारतको सुदूर उत्तरपूर्वी क्षेत्रमा रहेको मणिपुर राज्यमा भएको जातीय झडपमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार ५४ पुगेको छ । जनजातीय समूहले निकालेको विरोध प्रदर्शनमा प्रहरी बलपछि परिस्थिति हिंसात्मक बनेको भन्दै हजारौं सैनिकलाई मणिपुर राज्यमा पठाइएको छ ।
अधिकारीहरूले इन्टरनेट ब्ल्याकआउट लागू गरे र अशान्ति नियन्त्रण गर्ने प्रयासमा ‘चरम अवस्थामा’ गोली हान्ने आदेश जारी गरेका छन् । भारतका कानुनमन्त्री किरेन रिजिजुले शनिबार पत्रकारसँग कुरा गर्दै केही दिनयता चलेको झडपमा धेरैको ज्यान गएको र सम्पत्तिमा क्षति पुगेको बताउनुभएको छ ।
इन्टरनेट बन्द गरिएका कारण मणिपुरबाट सूचना प्रवाहमा बाधा पुगेको छ र पछिल्लो झडपको विवरण पाउन कठिन भएको छ । छिमेकी राज्य नागाल्याण्डमा रहेको भारतीय सेनाको एक टुकडीले हिंसाबाट बच्न १३ हजार मानिसले शरण लिएको जनाएको छ ।
राज्यका उच्च प्रहरी अधिकारीले दङ्गाकारीहरूले प्रहरी चौकीहरूबाट हातहतियार र गोलाबारुद चोरेको चबताएकोे केही घण्टापछि शुक्रबार राति फेरि हिंसात्मक झडप भएपछि स्थिति तनावपूर्ण बनेको थियो ।
राज्यको राजधानी इम्फाल र थप दक्षिणमा रहेको चुराचन्दपुर जिल्लामा रहेका अस्पतालका मुर्दाघरमा झडपमा मृत्यु भएका जम्मा ५४ जनाको शब राखिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
“सोह्र शव चुराचन्दपुर जिल्ला अस्पतालको शवगृहमा राखिएको छ भने १५ शव इम्फाल पूर्वी जिल्लाको ‘जवाहरलाल नेहरु इन्स्टिच्युट अफ मेडिकल साइन्सेस’मा राखिएको छ,” प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) ले स्रोतमा नाम उल्लेख नगरिकन एक स्थानीय अधिकारीलाई उद्धृत गर्दै लेखेको छ ।
“इम्फाल पश्चिम जिल्लाको लाम्फेलस्थित क्षेत्रिय अस्पताल ुरिजनल इन्स्टिच्युट अफ मेडिकल साइन्सेज’ले २३ जनाको मृत्यु भएको जानकारी दिएको छ ।”
मणिपुरका प्रहरी महानिर्देशक पी. ढुङ्गेलले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै सुरक्षा बलले स्थितिलाई नियन्त्रणमा लिइरहेको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “सेनाको गस्ती टोलीले यो समस्यालाई नियन्त्रण गर्न निकै लामो यात्रा तय गरेको छ । केही प्रहरी चौकीहरू हतियार र गोलाबारुद चोर्ने ‘उपद्रवीहरू’ द्वारा अतिक्रमित भएको र उनीहरूलाई फिर्ता गर्न सार्वजनिक सूचना जारी गरिएको छ ।” सुरक्षा बल र मणिपुर सरकारले यस हप्ताको हिंसामा मृत्यु हुनेको आधिकारिक विवरण सार्वजनिक गरेका छैनन् । रासस÷एएफपी