म्यानचेस्टर सिटीले सिजनको अन्तिम दिन वेस्ट ह्यामलाई ३–१ ले हराउँदै लगातार चौथो प्रिमियर लिग उपाधि जितेको छ । इंग्लिस फुटबलको १३६ वर्षको इतिहासमा कुनै पनि टोलीले लगातार चार पटक शीर्ष डिभिजनको उपाधि जित्न सकेको थिएन । तर, आइतबार राति इतिहाद स्टेडियममा सम्पन्न खेलमा सिटीले उक्त दुर्लभ इतिहास बनाएको हाे ।

सिटीको यो १०औँ प्रिमियर लिग उपाधि हो । यसअघि सिटीले सन् २०२१ (८६ अंक), २०२२ (९३ अंक) र २०२३ (८९ अंक)मा उपाधि ‘ह्याट्रिक’ गरेको थियो । पुन: उपाधि जितेको सिटीले यसपटक ३८ खेलबाट ९१ अंक जोड्यो ।

सिटीलाई उपाधि दिलाउन फिल फोडेनले २ तथा रोड्रीले १ गोल गरे । वेस्टह्यामका मोहम्मद कुदुसले गोल फर्काए पनि सिटीसँग जित हात पार्न सकेन ।

खेलको दोस्रो मिनेटमै बर्नार्डो सिल्भाको पासमा फोडेनले गोल गर्दै सिटीलाई शुरूआती अग्रता दिलाएका थिए । १८औँ मिनेटमा जेरेमी डोकुको पासमा फोडेनले नै गोल गर्दै सिटीको अग्रता २/० मा पुर्‍याए। तर, ४२औँ मिनेटमा कुदुसले गोल गरेर वेस्टह्यामलाई आशा जगाएको थियो ।

५१औँ मिनेटमा सिल्भाकै पासमा रोड्रीले गोल गर्दै सिटीलाई ३–१ को स्थितिमा पुर्‍याए । पुन: खेलको ८९औँ मिनेटमा थोमस सुसेकले गोल गर्दै वेस्टह्यामलाई ३–२ को स्थितिमा ल्याएका थिए । तर, भिडियो असिस्टेन रेफ्री (भीएआर)ले उक्त गोललाई मान्यता दिएन । भीएआरले गोल भएको बल सुसेकको हातमा लागेर गएको देखाएको थियो ।

सन् १८८८ मा फुटबल लिगको पहिलो संस्करण शुरू भएदेखि पेप गार्डियोलाको टोली अहिले लगातार चार वटा शीर्ष उपाधि जित्ने पहिलो इंग्लिस टोली बनेको छ । यो सिजन लगातार दोस्रो वर्ष प्रिमियर लिगमा दोस्रो स्थानमा रहेको आर्सनलका लागि थप निराशाको साथ समाप्त भएको छ । सिजनको अन्तिम दिनसम्म पुगेको उपाधि दौडमा म्यान सिटीभन्दा आर्सनल दुई अंकले पछि परेको छ । आर्सनलले समान ३८ खेलबाट ८९ अंक जोडेको छ ।