दुई महिनाभित्र अमेरिकामा तेस्रो बैंक टाट पल्टिएको छ । नियमनकारी निकाय फेडेरल डिपोजिट इन्स्याेरेन्स कर्पोरेसनले फर्स्ट रिपब्लिकन बैंक टाट पल्टिएको जनाएको छ ।
कर्पोरेसनको मध्यस्थतामा जेपी मोर्गनले सङ्कटग्रस्त बैंक फर्स्ट रिपब्लिकनलाई स्वामित्व ग्रहण गरेको छ । जेपी मोर्गन चेस एन्ड कम्पनीले फर्स्ट रिपब्लिकन बैंकको १ खर्ब ७३ अर्ब अमेरिकी डलरको कर्जा लगानी, ३० अर्ब बचतपत्र साथै ९२ अर्ब अमेरिकी डलरको बचतको अधिग्रहण गरेको हो ।
जेपी मोर्गन र कर्पोरेसनबीच यसबाट हुने घाटा दुवैले बेहोर्ने पनि सहमति भएको छ । यसअघि गएको मार्चमा सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक टाट पल्टिएको घोषणा गरिएको थियो । फर्स्ट रिपब्लिक बैँक अमेरिकाको चौधौँ ठूलो बैंक हो । यो बैँक टाट पल्टिएको घोषणापछि विश्वव्यापी रुपमा तरङ्ग फैलिएको छ ।