नेकपा एमालेका संस्थापक अध्यक्ष तथा पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीकोस्मृति दिवसमा आज विभिन्न कार्यक्रम हुँदैछ । विक्रम संवत् १९७८ सालमा काठमाण्डौमा जन्मिएका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो ।
उहाँ २०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री बन्नु भएको थियो । पढाइको सिलसिलामा भारतको बनारसमा हुँदादेखि नै उहाँ राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । ‘भारत छोड’ आन्दोलनको क्रममा उहाँ बनारस जेल पर्नुभएको थियो । जेलमा भारतीय कम्युनिष्ट नेताहरुसँगको सम्पर्कमा उहाँ कम्युनिष्ट पार्टीमा संगठित हुनुभएको थियो । वि.स. २००३ सालमा विराटनगरमा भएको मजदूर हडतालको नेतृत्व उहाँले सम्हाल्नुभएको थियो ।
लामो राजनीतिक संघर्षको क्रममा उहाँले १७ वर्ष जेल जीवन बिताउनुभएको थियो । २०५१ को मध्यावधि निर्वाचनपछि ९ महिनासम्म प्रधानमन्त्री भएका अधिकारी ‘आफ्नो गाउँ आफैं बनाउँ’ र वृद्धभत्ता कार्यक्रमका कारण लोकप्रिय बन्नुभयो ।अधिकारीले स्थापित गरेका आदर्श, सिद्वान्त र मूल्य मान्यता कम्युनिस्ट पार्टीका लागि अहिले पनि उत्तिकै अनुकरणीय र सान्दर्भिक मानिन्छ । उहाँको नेतृत्वको ९ महिने सरकारले लोकप्रिय काम गरेको भनेर अहिले पनि चर्चा हुने गरेको छ । अधिकारी नेपाली राजनीतिमा निष्ठा र सदाचारका प्रतीक मानिनुहुन्छ ।