नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) ले पार्टीलाई बलियो बनाएको र यसको परिणाम चार वर्षपछि हुने निर्वाचनमा देखापर्ने बताउनुभएको छ । एमाले ४४ जिल्लामा पहिलो पार्टी बने पनि ६ प्रतिशत जनमत घटेको र यो अभियानमार्फत त्यसको क्षतिपूर्ति गर्नुपर्ने दायित्व रहेको बताउनुभयो ।
एमाले लुम्बिनी प्रदेश कमिटीको दुई दिने समीक्षा कार्यक्रममा उहाँले २०४६ सालपछिको ३२ वर्षमा २८ वटा सरकार बनेको चर्चा गर्दै यस्तो अस्थिरताको दुष्चक्रबाट मुलुक बन्न नसक्ने भएकोले ४ वर्ष पछिको निर्वाचनमा बहुमत ल्याउने अभियानका साथ ‘मिसन ग्रासरुट’ पश्चात् पनि निरन्तर पार्टी काममा लाग्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।
२ दिनसम्म चलेको समीक्षा बैठकमा पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली, सचिव तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा लगायत पोलिटब्युरो, केन्द्रीय कमिटी तथा अन्य विभागमा रहेका नेताहरू, १२ वटै जिल्लाका अध्यक्ष तथा प्रदेश कमिटीका नेताहरू सहभागी रहेको प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिनुभयो ।