एसीसी प्रिमियर कप क्रिकेट भोलिदेखि सुरु हुँदै छ । पाकिस्तानमा हुने एसिया कपको छनोटसमेत रहेको प्रतियोगिता भोलिदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ ।
१० टिमको सहभागिता रहेको प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले भोलि मलेसियासँग खेल्दै प्रिमियर कपको सुरुआत गर्नेछ । नेपालसँगै यो समूहमा ओमान, मलेसिया, साउदी अरेबिया र कतार छन् ।
यस्तै, समूह ‘बी’ मा युनाइटेड अरब इमिरेट्स (युएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिताको विजेताले पाकिस्तानमा हुने तालिका रहेको एसिया कपमा स्थान बनाउनेछ ।
कुल २४ खेल हुने प्रतियोगिताको फाइनल वैशाख १८ गते त्रिवि क्रिकेट मैदान हुनेछ । नेपालको समूह चरणका तीन खेल त्रिवि मैदानमा हुँदा एक खेल मुलपानी मैदानमा हुनेछ ।
प्रतियोगिता अघि सोमबार काठमाडौँमा भएको प्रिम्याच कम्फ्रेन्समा सबै टिमका कप्तानहरूले उत्साहित भएर खेलको तयारी गरेको बताएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले सबै खेलाडीहरूले राम्रो तयारी गरेको भन्दै राम्रो नजिता आउने बताए ।