मकवानपुर । नयाँ वर्षको अवसरमा हेटौंडा उपमहानगरपालिकाद्वारा आयोजित हेटौंडा रनको उमेश गोङ्बाले जितेका छन् । आईतबार आयोजित दौड प्रतियोगितामा निर्धारित ५ किलोमिटरको दुरी २० मिनेट ४ सेकेन्डमा पूरा गर्दै हेटौंडा–१४, बनेलधापका गोङ्बा च्याम्पियन बनेका हुन् ।
प्रतियोगितामा १९ मिनेट ५५ सेकेन्डमा निर्धारित दूरि पार गरेका सोमप्रसाद न्यौपाने मकवानपुर जिल्ला बाहिरको भन्ने पुष्टि भएपछि दोस्रो स्थानमा रहेका गोङ्बा स्वतः प्रथम घोषित भएका हुन् । गोङ्बाले उपाधिसँगै नगद ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
त्यस्तै प्रतियोगितामा २० मिनेट १० सेकेन्डमा दुरी पार गरेका सञ्जिब मिजार द्वितीय र २० मिनेट १८ सेकेन्डमा दूरी पार गरेका सनिस लामा तृतीय भए । द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार रुपैयाँ र २० हजार रुपैयाँ प्राप्त गरेका छन् । भने, सान्त्वना भएका सुमन आले मगर र निशान श्रेष्ठलाई १०–१० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताका बिजेतालाई हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँले पुरस्कार वितरण गर्नु भएको थियो । हेटौंडाको बुद्धचोकबाट सुरु भएको दौड कान्तिराजपथको सानोपोखरा, पिप्ले हुँदै पुनः बुद्धचोकमा आएर समापन भएको थियो । प्रतियोगितामा ५६ जनाको सहभागिता रहेको थियो । हेटौंडा उपमहानगरपालिकाले नगरवासीलाई दौड प्रति अभिरुचि बढाउने उदेश्यका साथ प्रतियोगिता आयोजना गरेको जनाएको छ ।