मकवानपुर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान प्रचण्ड नेतृत्वको सरकारले देशको अर्थतन्त्र बदल्न नसक्ने दाबी गर्नुभएको छ । नेकपा एमाले हेटौँडा उपमहानगरपालिकाको आयोजनामा शनिबार हेटौंडामा भएको प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले अहिलेको सत्ता गठबन्धा सरकारसँग देश बनाउने कुनै गन्तव्य र लक्ष नै नभएको बताउनुभयो ।
महासचिव पोखरेलले एमाले सरकारमा हुँदा नेपालको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको तर एमालेको बहिर्गमन पछि देशको अर्थ ब्यवस्था ध्वस्त हुँदै गएको बताउनुभयो । एसियाको दुई ठुला शक्तिराष्ट्रहरुको बिचमा आफुहरु रहेको र विश्वको अर्थतन्त्रको केन्द्र यि दुई राष्ट्र बन्दै गएको कारण नेपालमा विदेशी शक्तिको चलखेल बढनसक्ने उहाँको भनाई थियो । उहाँले विदेशी शक्तिको केन्द्र बन्नबाट रोक्नको लागि एमालेलाई जनताले बहुमत दिनपर्ने बताउनुभयो ।
महासचिव पोखरेलले एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान आगामी २०८४ मा हुने आम निर्वाचित केन्द्रीत रहेको भन्दै अब एमालेले ‘मिसन ८४’ लाई अभियानको रुपमा सञ्चालन गर्ने बताउनुभयो । वर्षभरी एमाले हुने तर भोट हाल्ने दिन एमाले विर्षने सदस्यहरु एमाले हुन नसक्ने भन्दै उहाँले नविकरणमा भन्दा कटिवद्ध एमाले निर्माण अभियानमा जोड दिन मातहतका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो–‘अरु बेलामा सधै एमाले बनिरहने र चुनाबमा भोट हाल्ने बेलामा अरु कसैको हुने चलनको अब सधैका लागि अन्त्य हुनुपर्छ ।’ पार्टीमा रहेर जसले काम गर्न सक्छ उसैलाई जिम्मा दिनुपर्छ ।
कार्यक्रममा नेकपा एमालेका पोलिट्ब्युरो सदस्य पार्बत गुरुङ र नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले हेटौंडा र मकवानपुर जिल्लामा भएको ग्रासरुट अभियानका बारेमा प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, नेकपा एमालेका केन्द्रीय सदस्यहरु रामेश्वर राना, कृष्ण प्रसाद दाहाल, जुनेली श्रेष्ठ, एमाले बागमती प्रदेश कमिटीका उपसचिब तथा एमाले सचेतक महेश कुमार बर्तौला लगायतका प्रदेश र जिल्लाका नेताहरुको आतिथ्यता रहेको थियो ।