मकवानपुर – मकवानपुरकाे विकट कैलाश गाउँपालिकामा आजबाट ग्रामिण आँखा केन्द्र सञ्चालनमा आएकाे छ । जिल्लाकाे कर्णाली भनेर चिनीने कैलाश गाउँपालिका वडा नम्वर–३ कालिकाटारमा स्थापना गरिएको ग्रामिण आँखा केन्द्रको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले आज एक कार्यक्रमकाबीच उद्घाटन गर्नु भएकाे हाे ।
केन्द्रको उद्घाटन गर्नुहुँदै अध्यक्ष माेक्तानले आँखा उपचार केन्द्रको स्थापनाले कैलाशका आँखाका विरामी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयाे । मुक्तानले सो केन्द्रलाई नमूना केन्द्र बनाउन र सकेसम्म धेरै जनताको पहुँच विस्तार गर्न गाउँपालिकाले सदैव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे । हेटौंडा सामुदायिक आँखा अस्पताल र कोरियन संस्था अनड्रिम ब्लाइन्डनेश प्रिभेन्सन प्रोजक्टको व्यवस्थापन तथा कैलाश गाउँपालिकाको सहयोगमा आँखा उपचार केन्द्र स्थापना गरिएको हो ।
केन्द्रमा विरामीको आँखा परीक्षणका लागि गाउँपालिकाले नेत्र सहायक र सहयोगी गरी दुई जना नियुक्त गरेको छ । केन्द्रले आजैबाट आँखा जाँच तथा चस्मा जाँच समेत सुरु गरेको छ ।स्थापनाको अवसरमा एकदिने निःशुल्क आँखा शिविरमा वरिष्ठ डा. मोहन कृष्ण श्रेष्ठ, अप्थाल्मिक अफिसर शुसिल सिंहलगायतको टोलीले विरामीको आँखा परीक्षण गर्नु भएकाे थियाे ।
शिविरमा १८६ जना आँखाका विरामीको परीक्षण गरिएकोमा २१ जनामा मोतिविन्दु देखिएको र आउँदो वैशाख ४ गते गाउँपालिकासँगको समन्वयमा उहाँहरुको आँखाको शल्यक्रिया गरिने सामुदायिक आँखा अस्पताल हेटौंडाका प्रशासकीय अधिकृत सुधिर श्रेष्ठले जानकारी दिनुभएकाे छ । उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, वडा अध्यक्ष देवलाल बललगायत पालिकाका विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।