सरकारले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई जिम्मेवारीबोध गरी काम गर्न सचेत गराएको छ । मङ्गलवार सिंहदरबारमा रहेकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले काठमाण्डाै उपत्यकाको फोहोर उठाउने जिम्मा पालिकाकाे भएकाले आफ्नो जिम्मेवारीबोध गरेर काम गर्न मेयर साहलाई सचेत गराउने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरबार, बालुवाटार, शीतल निवासको फोहोर नउठाउने भन्ने काठमाण्डाै महानगरका मेयरकाे घोषणा नीतिगत व्यवस्थाविरुद्ध रहेको बताउनुभयो । उहाँले बैठकमा नीतिगत व्यवस्थाअनुसार फोहोर उठाउन आग्रह गर्ने र फोहोर नउठे नीति पालना गर्न सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने विषयमा छलफल भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सिंहदरबार, बालुवाटार, शीतल निवासको फोहोर नउठाउने भन्ने काठमाण्डाै महानगरका मेयरले घोषणा गर्नुभएको विषय नीतिगतरूपमा काठमाण्डाै उपत्यकाका फोहोर पालिकाले उठाउने भन्ने नीतिगत व्यवस्था हो । त्यो नीतिगत व्यवस्था परिवर्तन भएको छैन । त्यसैअनुसार यसलाई व्यवस्थापन गर्न छलफल गर्ने र त्यसो हुँदा पनि नभए नीति पालना गर्न सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने भन्ने विषयमा गम्भीर छलफल छ । उहाँको अभिव्यक्ति राम्रो छैन भन्ने कुरामा छलफल भएको छ ।’
बैठकमा आयातित तथा उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीवनाशक विषादीको प्रयोगमा सीमा निर्धारण गर्ने विषयलाई मन्त्रिपरिषदबाट स्वीकृत गरिएको शर्माले बताउनुभयो ।