प्रदेश १ को प्रदेश सभाको बैठक सुरु भएको छ । प्रदेशकाे नामकरणको विषयमा छलफल गर्न बैठक बसेकाे हाे ।
प्रदेश १ काे नामाकरण गर्ने सन्दर्भमा नेकपा एमालेले कोशी नाम राख्नुपर्ने प्रस्ताव दर्ता गरेको छ भने एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले किरात लिम्बुवान सगरमाथा राख्न प्रस्ताव गरेका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले कोशी प्रदेशको पक्षमा मतदान गर्ने बताएका छन् ।
प्रदेश सभाको नामकरणका लागि प्रदेश सभामा कायम रहेका दुई तिहाइ सांसदको समर्थन हुनुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश नामकरणका लागि ६३ जना सांसद आवश्यक हुन्छ । प्रदेश सभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको छ, नेकपा एसको चार र जसपाको एक जना सांसद छन् ।
यसैबीच जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही ठाउँमा निषेधाज्ञा जारी गरेको छ । प्रदेश सभाले नामको टुङ्गो लगाउने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको हो । दलहरू भूगोलका आधारमा नाम राख्न सहमत भएपछि पहिचानका पक्षधरले आन्दोलन गर्ने सम्भावना रहेको भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।