प्रदेश नम्बर १ को नामकरण गर्ने विषयमा भइरहेको विरोध रोक्न विराटनगरमा निषेधाज्ञा जारी भएको छ । प्रदेश सभाले आज बुधवार नामको टुङ्गो लगाउने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले विरोध भइरहेको विराटनगरका केही ठाउँमा निषेधाज्ञा जारी गरेको हो ।
प्रदेशको नाम कोशी राख्न नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहमत छन् । दलहरू भूगोलका आधारमा नाम राख्न सहमत भएपछि पहिचानका पक्षधरहरूले आन्दोलन गर्ने सम्भावना रहेको भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो । प्रशासनले प्रदेश सभा भवन अगाडि, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवास वरपर दिउँसो ३ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको हो ।