नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरिएको छ । सरकारमा सहभागी भएको ६५ दिनमा एमाले बाहिरिएको हो । दुई दिनअघि (यही फागुन १३ गते) सचिवालय बैठकले सरकारलाई निरन्तरता दिने निर्णय गरेको एमालेले आज बसेको सचिवालय बैठक सरकारबाट अलग हुने निर्णय गरेको छ । पुस १० गते सरकार गठन गर्दा भएको सहमति पालना नभएको जनाउँदै सरकारबाट बाहिरिने निर्णय गरेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उपप्रधान तथा अर्थमन्त्री समेत रहेका पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो।
उहाँले सरकारमा रहेर काम गर्ने सोच रहे पनि प्रधानमन्त्रीबाट एमाले र पार्टीबाट सहभागी मन्त्रीबारे गरिएको पछिल्ला अभिव्यक्ति र व्यवहारले सरकारमा बस्न नसकिएको बताउनुभयो । सरकार गठन सत्ता पदको बाँडफाँट मात्र नभई राष्ट्रिय अभिभारासमेत रहेकोले राष्ट्रमा रहेको सामाजिक, राष्ट्रिय स्वाधीनता, संविधानको रक्षा गर्नका लागि वर्तमान सरकारमा सहभागी भएको उहाँको भनाइ रहेको थियो । सरकारलाई सफल बनाउन सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सत्तारुढ दलकै सहमतिमा सार्वजनिक गरेका उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘सरकारले आफ्नो नीति तथा कार्यक्रमलाई ग्रहण गरेर अगाडि बढाएको थियो । हामी चाहन्थ्यौ त्यो नीतिगत प्राथमिकता प्रभावकारी रूपमा कार्यान्वयन होस् र सरकार गठनका निम्ति खास गरी पुस १० दुई दलबीचमा भएको सहमति अनुसार नै अघि बढ्छ भन्ने लागेको थियो, तर घटनाक्रम त्यस अनुसार अगाडि बढेन ।’