काठमाडौँ – नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २७ हजार ४ सय ४१ पुगेको छ । गत शुक्रवार माघ २१ गते ५६ हजार ४ सय ५७ सक्रिय संक्रमित भएकोमा एक हप्तापछि आज सङ्क्रमितको सङ्ख्या घटेर २७ हजार ४ सय ४१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गत माघ १४ गते कोरोना सङ्क्रमणको वृद्धिदर ३३ दशमलव २ प्रतिशत रहेकोमा क्रमशः घट्दै आज सङ्क्रमणको वृद्धिदर ३ दशमलव ८ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ । यो तथ्याङ्कसँगै कोरोना भाइरसबाट संक्रमित हुने दर दैनिक घट्दो क्रममा रहेको छ । आज १ हजार १ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । २० हजार ९ सय ८९ नमुनाको परिक्षण गर्दा १ हजार १ सय २८ मा संक्रमण पुष्टि भएको हो ।