केही दिनयता लगातार घटिरहेको शेयर बजार आज बुधवार भने उच्च अङ्कले बढेको छ । आज शेयर बजार परिसूचक नेप्से ३३ दशमलव ५७ अङ्कले बढेर दुई हजार ८० दशमलव ३८ विन्दुमा पुगेको छ । कारोबार सुरु हुँदा परिसूचक २ हजार ४९ अङ्कमा थियो । आज परिसूचकमा उत्साहजनक वृद्धि हुँदा १ अर्ब ८० करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ भने ४७ लाख ७९ हजार कित्ता सेयर किनबेच भएको छ ।
यस क्रममा आज १६५ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, ४९ वटा कम्पनीको सेयर मूल्य घट्दा ३ वटा कम्पनीको सेयर मूल्य भने स्थिर छ । लिबर्टी इनर्जी कम्पनीको सेयर मूल्य ९.८० प्रतिशतले बढेको छ भने च्याङ्दी हाइड्रोपावरको सेयर ९.५६ प्रतिशत र दोर्दी खोला जलविद्युत आयोजनाको सेयर ९ प्रतिशतले बढेको छ । परिसूचक ३३ अङ्कले बढे पनि ३ वटा कम्पनीको सूचक भने घटेको छ । आज लघुवित्त समूहको सूचक ६० अङ्कले घट्दा म्यूचुअल फण्ड समूहमा ०.०२ अङ्कको गिरावट आएको छ । यस्तै, व्यापार समूह ०.०८ अङ्कले बढेको छ । यीबाहेक अन्य सबै समूहमा सुधार आएको छ । कारोबार भएका १३ समूहमध्ये ३ समूहको सूचक घट्दा १० समूहको सूचक बढेको छ । जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै १९६ अङ्कले बढ्दा निर्जीवन बीमा समूहको सूचक १८० अङ्कले बढेको छ ।