मकवानपुर – राष्ट्रपति विद्यादेवी भण्डारी आज हेटौंडा आउनुहुने भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा सञ्चालित हेटौंडा अस्पतालको नवनिर्मित भवन उद्घाटन्का लागि राष्ट्रपति भण्डारी हेटौंडा आउन लाग्नु भएको हो । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको एकमात्र सरकारी अस्पताल हेटौँडा अस्पतालको नव निर्मित भवन उद्घाटनका लागि उहाँ आउन लाग्नु भएको हो । राष्ट्रपति भण्डारी आज पौने १२ बजे हेटौंडा आइपुग्ने समय तय भएको हेटौंडा अस्पताल व्यावस्थापन समितिका अध्यक्ष तथा मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले बजानकारी दिनुभयो ।
करिब ३ वर्षको अवधिमा बीएस कन्ट्रक्सन कम्पनीले ३५ करोड ३२ लाख ८ हजार लागतमा तीन तले सुविधा सम्पन्न नयाँ भवन निर्माण गरेको हो । २०७६ भदौ ७ गते निर्माण सुरु गरिएको भवन तीन वर्षमा सम्पन्न भएको हो । २०१६ सालमा १५ बेडबाट सुरु भई जिल्ला अस्पतालको रुपमा २०२२ सालमा स्थापना भएको हेटौँडा अस्पताल तत्कालिन अस्पताल विकास सेवा समितिको गठन पछि नेपाल सरकारको २५ शैया र विकास समितिको २५ शैया गरी जम्मा ५० शैया सञ्चालन हुँदै आएको थियो । आर्थिक वर्ष २०६१÷६२ सालमा मन्त्रिपरिषदको निर्णयानुसार उप–क्षेत्रीय अस्पतालमा रुपान्तरण गरिएपनि उप–क्षेत्रीय अस्पतालको दरबन्दी पठाउन नसकेको कारण २०७१ असार २० को मन्त्रिपरिषद्को निर्णयले ५० शैया कायम गरी सोही अनुसार दरबन्दी स्थापना भई पदपूर्ति भइरहेको थियो । हाल नेपाल सरकारको ५० शैया र विकास समितिको ५० शैया तथा अन्य १० शैया गरी ११० शैया प्रयोग भइरहेको छ । अब मदन भण्डारी स्वास्थ्य प्रतिष्ठान मार्फत अस्पताल २०० शैया सञ्चालन हुने छ । अस्पतालमा अहिले करिब २ सय जना स्वास्थ्यकर्मीहरु कार्यरत छन् । हेटौंडा अस्पतालले नयाँ भवनबाट विरामीहरुलाई सेवा उपलब्ध गराउँदै आए पनि भवनको औपचारिक रुपमा भने उद्घाटन गरिएको थिएन । प्रतिष्ठान मार्फत सञ्चालनमा आएपछि अहिले हेटौँडा अस्पतालको सेवा समेत विस्तार भएको छ ।