मकवानपुर । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री राजु विष्टले सालक किसानको साथी भएको बताउनु भएको छ । अन्तराष्ट्रिय सालक दिवसको अवसरमा डिभिजन वन कार्यालय, मकवानपुर र राप्तीले संयुक्त रुपमा शुक्रवार मनहरीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विष्टले यसको संरक्षणमा सबै क्षेत्र लाग्नु पर्नेमा जोड दिनुभयो ।

May be an image of outdoors

किसानको शत्रु जीवको रुपमा रहेको कमिला र धमिरा खाएर आफ्नो जीवनयापन गर्ने लज्जालु जीवलाई संरक्षण गर्न सके उत्पादनमा समेत वृद्धि हुने बताउनुभयो । आफू सामुदायिक वनको नेतृत्वमा रहदा यसको संरक्षण र जनचेनतामुलक काम गरेको स्मरण गर्दै मन्त्री विष्टले मन्त्रालयले सालकको संरक्षणमा सदैव सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा मन्त्री विष्टले सालकको बारेमा तैयार गरिएको गीतको शुभारम्भ समेत गर्नुभएको थियो ।
कार्यक्रममा बागतमी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहालले मन्त्रालयले सालक संरक्षणको लागि यस आवमा ५ करोड रकम विनियोजित गरेको बताउनुभयो । नेपालमा सालक संरक्षणको अभियान २०३० सालदेखि शुरु भएको भएतापनि अहिले यसको सार्थकता बढेकोमा खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, मनहरी गाउँपालिका अध्यक्ष रंजन कालाखेती, उपाध्यक्ष सीता पुलामी, वन तथा भू–संरक्षण विभागका महानिर्देशक देवोष्मणी त्रिपाटी, डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख शीव सापकोटा, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, संरक्षणकर्मी तुलसी लक्ष्मी सुवाल, डिभिजन वन कार्यालय राप्तीका शम्भु तामाङ लगायतकाले सालकको वारेमा आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा सामुदायिक वन र विद्यालयका विद्यार्थीहरुले सालक सम्बन्धी जनचेतनामुलक गीत तथा नृत्य प्रस्तुत गरेका थिए । मकवानपुरमा हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वनले २०६१ सालदेखि सालकको संरक्षण गर्दै आएको छ । हाल समूहको क्षेत्रभित्र करिव ५० वटा सालक रहेको अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताउनुभयो । घाईते सालकको उद्धार गर्न समूहले ब्लक नम्बर ५ मा सालक केज समेत निर्माण गरेको छ । अत्यन्त लज्जालु हुने यो सालकको बासस्थान र यसको आहारमा वृद्धि गर्न सके मकवानपुर जिल्लालाई सालकको गौरवको जिल्ला घोषणा गर्न सकिने संरक्षणकर्मीहरुले बताएका छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार सालक पक्रने शिकार गर्ने खपटाको व्यापार गर्ने ओसारपसार गर्नेलाई १ लाख देखि ५ लाख सम्म जरीवाना वा १ वर्ष देखि १० वर्षसम्म कैद वा दुबै सजाय हुने कानूनी व्यवस्था छ । विश्वमा ८ प्रजातीका सालक पाईन्छ भने नेपालमा कालो र तामे गरि २ प्रकारका सालक पाईन्छ । कार्यक्रम डिभिजन वन कार्यालय, राप्ती मनहरीका प्रमुख विष्णुप्रसाद आचार्यको सभाध्यक्षतामा भएको थियो ।