हेटौंडा । आयोजक मकवानपुर ११ लाई हराउँदै मनाङ मर्स्याङदी क्लब हेटौंडामा जारी पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ को सेमिफाइनलमा प्रवेश गरेको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा शुक्रबार भएको खेलमा मकवानपुर ११ लाई २–१ गोलअन्तरले पराजित गर्दै मनाङले अन्तिम चारमा स्थान बनाएको हो ।
मनाङको जीतमा सुमित श्रेष्ठ र डिवान्डो ड्याङबोले गोल गरेका थिए । सुमितले ११ र डिवान्डोले ३९ औं मिनेटमा गोल गरेका थिए । मकवानपुरको लागि एक गोल साहिदले गरेका थिए । साहिदले खेलको ५३ औं मिनेटमा गोल गरेका थिए । मनाङ मर्स्याङदी क्लबले अब नेपाल एपिएफ क्लब सँग ७ गते आइतबार पहिलो फेमिफाइन खेल खेल्नेछन् । प्रतियोगिताअन्तर्गत् भोलि शनिबार हिमालयन शेर्पा र फ्रेण्डस क्लबबीच खेल हुनेछ । यही फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई रोयल इन्फिल्ड (बुलेट बाइक) को व्यवस्था गरिएको छ भने विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजना एवम् मकवानपुरका स्थानीय तह तथा अन्य विभिन्न सहयोगी संस्थाहरुको सहयोगमा प्रतियोगिता सञ्चालन भईरहेको छ ।