यति एअरलाइन्स विमान दुर्घटनामा परेकामध्ये ६८ जनाको शव फेला परेको छ । फेला परेका ६८ शवमध्ये २६ जनाको पहिचान खुलेकाे छ । ६३ जनाको शव पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । पाँच जनाको शव देखिए पनि सेती खोँचबाट निकाल्न सकिएको छैन ।
पोखराको सीताराम पुल नजिकै सेती खोँचमा दुर्घटना भएको विमानमा ७२ जना रहेका थिए । अन्य चार जनाको अवस्था अझै खुलेको छैन। पहिचान खुलेकाहरुकाे शव आज आफन्तलाई जिम्मा लगाइने कास्कीका प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले बताउनु भयाे। पहिचान खुल्ल नसकेका शवलाई काठमाण्डौ लगेर डीएनए परीक्षण गरिने उहाँले बताउनु भयाे।
पहिचान भएकाहरुमा पोखरा ११ बस्ने ३७ वर्षीय पत्रकार त्रिभुवन पौडेल, पोखरा १३, काहुँडाँडाका २७ वर्षका निशान्त आचार्य, पोखरा १७ घर भइ अहिले बालाजु बस्ने सङ्गीता शाही, पोखरा ४ का डा. सुशील श्रेष्ठ र उहाँकी श्रीमती डा. सोना दिवाकर, पर्वतको कुष्मा १ का १० वर्षका रियान पौडेल, पोखरा १३ मियाँपाटनका सदाकत अलिमियाँ, पोखरा ७ की लक्ष्मी पौडेल, पर्वत कुष्मा ९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेल, उहाँकी ११ वर्षकी छोरी प्रसिद्धि, पर्वत मोदी १ का ३९ वर्षका विजयकुमार गुरुङ, त्यही ठाउँकी रचना काफ्ले पौडेल, पोखरा २२ का रक्की गुरुङ छन् ।
यस्तै, रुपन्देही शङ्करनगर ८ का डा. गणेश थापा, काठमाण्डौकी नतु परियार, रीता परियार, हरि परियार, पोखरा ८ की एसमिन गुरुङ, पोखराको बुद्धचोकका पूजन राना, बुटवल मुर्गिया घर भएकी एअर होस्टेज सृजना हुन्चिङ, कावासोती ६ का ३५ वर्षका मोहनप्रकाश श्रेष्ठ, पोखराको छोरेपाटनकी जीवनकला गुरुङ, कोरियन नागरिक यु क्युघुल, रसियन नागरिक जुरिज लेगिन र एलेनकाे पहिचान खुलेकाे छ ।
यसैबीच विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ । दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू बिहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिनुभयो ।
पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौँमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत पठाउने तयारी गरिएको छ । जहाजमा सवार ७२ जनामध्ये हालसम्म ६६ जनाको शव सङ्कलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिसकिएको छ । तीनवटा शव देखिए पनि भौगोलिक कठिनाइका कारण ल्याउन नसकिएको र छ जनाको शव अझै फेला नपरेको सहायक प्रजिअ शाहीले जानकारी दिनुभयो । सेती नदीको अप्ठेरो खोचमा विमान दुर्घटना भएको र रातको समय भएकाले उद्धारमा कठिनाइ भएसँगै आइतबार राति स्थगित उद्धार आज बिहानैदेखि सुरु गर्न लागिएको छ ।