हेटौंडा – नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदिय दलको नेतामा शालिकराम जम्कट्टेल चयन हुनुभएको छ । हिजो देखि काठमान्डौंमा जारी नेकपा माओवादी केन्द्रको प्रदेश कमिटि बैठकले जम्कट्टेललाई दलको नेता बनाउने निर्णय गरेको हो ।
हिजो पहिलो दिनको बैठकमा दलको नेतामा सहमति जुट्न नसकेपछि आज पुन बैठक बसेको थियो । आजकोे बैठकले जम्मकट्टेललाई दलको नेता बनाउने सहमति जुटेको सन्धुपाल्चोक २ (ख) का प्रदेशसभा सदस्य युवराज दुलालले सामाजिक संजाल मार्फत जानकारी गराउनु भएकाे छ । जम्मकट्टेल अघिल्लो कार्यकालमा पनि प्रदेश संसदीय दलको नेता हुनुहुन्थ्यो । संसदीय दलको उपनेतामा कुमारी मोक्तान र प्रमुख सचेतकमा बुद्धिमान माझी तथा सचेतकमा प्रतिमा श्रेष्ठ चयन हुनु भएकाे छ ।
संसदीय दलको नेतामा माओवादी प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल, प्रदेशका बहालवाला आर्थिक मामिला तथा योजनामन्त्री समेत रहनु भएका शालिकराम जम्मकट्टेल र प्रदेशका पूर्व सामाजिक विकासमन्त्री युवराज दुलाल, प्रदेशसभाको पूर्व उपसभामुख राधिका तामाङ, रामेछापबाट निर्वाचित सदस्य युवराज चौलागाईं लगायतले दाबी गर्नु भएको थियो । बागमती प्रदेश सभामा नेकपा माओवादी केन्द्रले २१ सिट जितेको छ ।