हेटौंडा – हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामा नेपाल नगरपालिका संघको सहकोषाध्यक्ष चयन हुनुभएको छ । काठमाडौंमा बुधबार सम्पन्न आठौं अधिवेशनबाट लामा सहकोषाध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।
आठौं अधिवेशनबाट सङ्घको अध्यक्षमा धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुङ्गाना सर्वसम्मत चयन हुनु भएको छ । यस्तै उपाध्यक्षमा सिन्धुपाल्चोकको चौतारासाँगागढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, महासचिवमा दाङको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, उपमहासचिवमा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोल र कोषाध्यक्षमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राई चयन हुनु भएको छ । स्थानीय तहको निर्वाचन भएपछि पालिकामा जित हासिल गरेको पार्टीको संख्या अनुसार सङ्घको भागवण्डा भएको हो । देशभरिका २ सय ९३ नगरपालिकाका जननिर्वाचित प्रतिनिधिबाट ५ वर्षको लागि नयाँ कार्यसमिति चयन भएको हो ।