मकवानपुर – बागमती प्रदेशको राजधानी हेटौंडामा राष्ट्रिय औद्योगिक व्यापार महोत्सव हुने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ ११ देखि २३ गतेसम्म १०औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सव हुने भएको हो ।
संघले बुधबार पत्रकार सम्मेलन गर्दै महोत्सव हेटौंडा–१०, स्थित टिसिएन चौरमा हुने जानकारी दिएकाे छ । महोत्सवमा स्थानीय उद्योगी, व्यवसायीले उत्पादन गरेको वस्तुलाई प्राथमिकता दिइने संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालले बताउनुभयो । महोत्सवले जिल्लाको रोजगारी, कृषि, पर्यटन, व्यापार क्षेत्रको विकासमा टेवा पुग्ने उहाँले बताउनुभयाे । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, कृषि उत्पादनको प्रदर्शनी, व्यावसायिक गोष्ठी तथा सेमिनार, अटो, घरजग्गा तथा हाउजिङ, खाना तथा साँस्कृतिक मेलासहित हेलिकप्टर टुर समेत रहने उहाँले बताउनुभयो । २ लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा ३ सय वटा स्टल रहने बताईएको छ ।