काठमाडौँ । नेकपा (एमाले)ले प्रतिनिधिसभाका सांसदलाई शपथ ग्रहण समारोहमा राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएको छ । एमालेका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचित सबै सांसदलाई राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिनुभएको पार्टी केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिनुभयो ।
यही पुस ५ गते एमालेले संसदीय दलको नेतामा पार्टी अध्यक्ष ओलीलाई चयन गरेको थियो । नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनुहुनेछ । संसद् सचिवालयले शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरेको छ । एमालेले प्रतिनिधिसभातर्फ ७८ सिट प्राप्त गरेको छ ।