चालु आर्थिक वर्षको पहिलो चार महिनामा रेमिट्यान्स आप्रवाह २०.४ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पहिलो चार महिना साउन, भदौ, असोज र कात्तिकमा ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैङ्कले जनाएकाे छ ।
नेपाल राष्ट्र बैङ्कका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.० प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १०.८ प्रतिशतले बढेर २ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष डलरको आप्रवाह ७.३ प्रतिशतले घटेको थियो । चार महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या १०२.५ प्रतिशतले बढेको छ । यो अवधिमा १ लाख ९५हजार १९६ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या यो अवधिमा ४६।४ प्रतिशतले बढेर ८७ हजार ४२८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४९।१ प्रतिशतले बढेको थियो । ४ महिनामा खुद ट्रान्सफर २०.२ प्रतिशतले बढेर ४१७ अर्ब ३८ करोड पुगेको राष्ट्र बैङ्कले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६।९ प्रतिशतले घटेको थियो ।