मकवानपुर – आइतबार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन मकवानपुरमा शान्तिपूर्ण तबरले सम्पन्न भएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदान प्रक्रियामा जिल्लाका कुल मतदातामध्ये ५९ प्रतिशतले मतदान गरेका छन् ।
मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाका अनुसार कुल ३ लाख ७ सय ३३ जना मतदाता मध्ये १ लाख ५३ हजार ५२८ पुरुष, १ लाख ४७ हजार २ सय महिला र अन्य ५ जना छन् । जस मध्ये आज सम्पन्न निर्वाचनमा ९२ हजार ८७७, पुरुष ८५ हजार ४ सय महिला अन्य ५ जना गरि कुल एकलाख ७८ हजार २८२ जनाले मतदान गरेको उहाँले बताउनुभयो । २०७४ को निर्वाचनमा मकवानपुरबाट ६५ प्रतिशत खसेको थियो । यसवर्षका निर्वाचनमा मतदाता संख्या बढेपनि जिल्लामा पाँच वर्षपछि मत दिनेहरु ६ प्रतिशतले घटेका छन् ।
जिल्लामा दुइ वटा प्रतिनिधि सभा र चार प्रदेशसभा मध्ये क्षेत्र नम्बर १ मा ६२ वटा मतदान स्थलमा १७२ वटा मतदान केन्द्र रहेका थियो । भने, क्षेत्र नम्बर २ मा १०५ वटा मतदान स्थलमा १९२ वटा मतदान केन्द्र रहेको थियो । निर्वाचनमा मकवानपुरको दुई वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी ६० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
यसैबीच मकवानपुरको मतगणना भोली सोमबारबाट मात्र सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । राती अबेरसम्म जिल्लाका मतपेटिकाहरु संकलन हुने र सोमबार सर्वदलीय बैठक बसी मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत निरौलाले जानकारी दिनुभयो । मतदान सकिएसँगै जिल्लाका सबै मतदान केन्द्रबाट मतगणनाका लागि मतपेटिकाहरु सदरमुकाम हेटौँडा ल्याउने क्रम जारी रहेको उहाँले बताउनुभयो । मतगणना हेटौँडा–२, स्थित सिदार्थ माविमा मतगणना स्थलमा तारजाली र सिसिक्यामेरा जडान गरेर मतगणनाका लागि तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।