मकवानपुर, चैत्र १० । बढ्दो गर्मी र सुक्खा मौसमसँगै वन डढेलोको जोखिम बढेसंगै मकवानपुरमा उच्च सतर्कता अपनाइएको जनाइएकाे छ । डिभिजन वन कार्यालय मकवानपुरले यस वर्ष डढेलो नियन्त्रणका लागि आधुनिक प्रविधि, द्रुत प्रतिक्रिया संयन्त्र र समुदायस्तरको सचेतनालाई प्राथमिकतामा राख्दै तयारीलाई तीव्र बनाएको जनाएको छ । “वन डढेलो व्यवस्थापन सप्ताह” (चैत्र १–७) को अवसरमा एक सातासम्म सञ्चालन गरेका अभियानका उपलब्धि, वर्तमान अवस्था र आगामी रणनीति लगायत विषय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै कार्यालयले वन डढेलो नियन्त्रणका लागि उच्च सतर्कतासंगै प्रविधि र पूर्वतयारीमा जोड दिएकाे जनाएकाे हो ।
कार्यक्रममा कार्यालय प्रमुख राकेश प्रसाद चन्द्रवंशीले डढेलो नियन्त्रणलाई केवल सरकारी प्रयासमा सीमित नराखी समुदाय, सुरक्षा निकाय र सञ्चारमाध्यमसँगको सहकार्य अपरिहार्य रहेको बताउनुभयो । सो अवसरमा वन अधिकृत हेमकुमार पाठकले कार्यपत्र प्रस्तुत गर्नुहुँदै मकवानपुरमा वन डढेलोको अवस्था वर्षेनी उतारचढावपूर्ण देखिए पनि यस वर्ष प्रारम्भिक चरणमै पूर्वतयारी सुदृढ गरिएको बताउनुभयाे ।
उहाँका अनुसार विगत २५ वर्षमा जिल्लाकाे बागमती र बकैया गाउँपालिकाका वन क्षेत्र बढी जोखिममा रहेका छन् । सन् २०१३ मा १२ हजार २ सय २१ हेक्टरभन्दा बढी वन क्षेत्र डढेलोबाट प्रभावित भएको थियो भने २०२१ मा पनि करिब ७ हजार हेक्टर वनमा क्षति पुगेको थियो । चालु आर्थिक वर्षको चैतसम्म भने, ६६ स्थानमा लागेको डढेलोले ४८७ हेक्टर वन क्षेत्र प्रभावित गरिसकेको तथ्याङ्क उहाँले प्रस्तुत गर्नुभयाे ।
डढेलो नियन्त्रणलाई प्रभावकारी बनाउन कार्यालयले आधुनिक प्रविधिमा आधारित प्रणाली लागू गरेको जनाईएको छ । ड्रोनमार्फत निगरानी, स्याटेलाइटबाट २४ घण्टा अनुगमन र तत्काल सूचना दिने ‘अलर्ट सिस्टम’ सञ्चालनमा ल्याइएको वन अधिकृत पाठकले बताउनुभयो । डढेलोबारे सूचना दिन निःशुल्क टोल–फ्री सेवा सुरु गरिएको छ भने सूचना प्राप्त भएको १०–१५ मिनेटभित्रै घटनास्थलमा पुग्ने ‘डेडिकेटेड रेस्पोन्स टिम’ समेत तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।
त्यस्तै कार्यक्रममा सप्ताहव्यापी अभियानअन्तर्गत जिल्लाका विभिन्न सब–डिभिजन क्षेत्रमा सचेतनामूलक ¥याली, विद्यालयस्तरीय कार्यक्रम र अन्तरक्रियाहरू सम्पन्न गरिएको उहँँले जानकारी दिनुभयो । यसले स्थानीय समुदायमा डढेलोप्रति सचेतना बढाउन मद्दत पुगेको कार्यालयले दाबी गरेको छ ।
सप्ताहव्यापी अभियानअन्तर्गत भौतिक पूर्वाधार सुदृढीकरणतर्फ ३७.१ किलोमिटर अग्निरेखा सरसफाइ गरिसकिएको छ भने यसलाई १०० किलोमिटरसम्म विस्तार गर्ने लक्ष्य राखिएको छ । वन्यजन्तु संरक्षणसँगै डढेलो नियन्त्रणका लागि २१ स्थानमा पानी पोखरी निर्माण भइरहेका छन् । साथै, ५०० हेक्टरभन्दा बढी क्षेत्रमा झाडी सफाइ गरी जोखिम न्यूनीकरणको प्रयास गरिएको उहँँले बताउनुभयो ।
कार्यालयले सुरक्षा समन्वयलाई पनि प्राथमिकता दिँदै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई ५५ सेट डढेलो नियन्त्रण सामग्री उपलब्ध गराइएको छ । सामुदायिक वनमा कम्तिमा दुई जना वन हेरालु परिचालन गरिएको छ भने डढेलो नियन्त्रणमा खटिने जनशक्तिको ५ लाख रुपैयाँ बराबरको सामूहिक दुर्घटना बीमा गरिएको उहाँले बताउनुभयो ।
यद्यपि, जनशक्ति र स्रोत–साधनको कमी, विकट भौगोलिक अवस्था तथा डढेलो गराउने दोषी पहिचान र कारबाहीमा कठिनाइ जस्ता चुनौतीहरू कायमै रहेको कार्यालयले जनाएको छ । आगामी दिनमा सुरक्षा निकायबाट ‘फोकल पर्सन’ तोक्ने, स्थानीय तहबाट वन श्रमिक परिचालनमा सहयोग लिने र सञ्चारमाध्यममार्फत जनचेतना अझ सशक्त बनाउने योजना रहेको कार्यालय प्रमुख चन्द्रवंशीले बताउनुभयो । वन डढेलो नियन्त्रणका लागि प्रविधि, तयारी र सहकार्यलाई एकसाथ अघि बढाउने रणनीतिले यस वर्षको जोखिम न्यून पार्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा भिभिजन वन अधिकृत बसन्तराज गौतम, विशाल भट्टराई, दिपक अधिकारी लगायतकाको आतिथ्यता रहेको थियो ।











