प्रतीकात्मक तस्बिर

हेटौँडा, चैत १० । मकवानपुरमा भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, जातीपोखरीकी ९ वर्षीया बालिका लमिना वाईवाको भिरबाट लडेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार २०८२ चैत ९ गते दिउँसो करिब ३ः३० बजे घाँस काट्न घरबाट करिब ५०० मिटर दक्षिणतर्फ रहेको चुत्रोघारीडाँडा जंगलतर्फ गएकी लमिना साँझसम्म घर नफर्किएपछि परिवारले खोजतलास गरेका थिए । खोजीका क्रममा चैत १० गते बिहान करिब ७ बजे सोही स्थानको भिरबाट करिब ३०० मिटर तल लडेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी सिस्नेरीबाट खटिएको टोलीले घटनास्थल सुरक्षित राखेको छ । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्राविधिकसहितको टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।