आईसीसी टी–२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्ड खेल्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो पौने दुई बजे अस्ट्रेलियाको सिड्नीमा सुरु हुनेछ । आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ ।
पाकिस्तान सुपर–१२ समूह ‘२’ को उपविजेता र न्युजिल्यान्ड समूह ‘१’ को विजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् । यी दुई देशबीच भएका पछिल्ला पाँच खेलमा पाकिस्तान चार खेलमा विजयी भएको छ । सुपर–१२ मा भारतसँग चार विकेट र जिम्बावेसँग एक रनले पराजित पाकिस्तानले बंगलादेश, दक्षिण अफ्रिका र नेदरल्यान्डस्लाई हराएको थियो ।
त्यस्तै सेमिफाइनल पुग्न नेदरल्यान्ड्सलाई हराउनुपर्ने खेलमा दक्षिण अफ्रिका पराजित भएपछि पाकिस्तान सेमिफाइनलमा पुगेको हो । पाकिस्तानले सन् २००९ मा श्रीलंकालाई हराउँदै विश्वकप जितेको थियो । न्युजिल्यान्डले अष्ट्रेलिया, श्रीलंका र आयरल्यान्डलाई हराएको थियो भने इंग्ल्यान्डसँग हारेको थियो । अफगानिस्तानसँगको खेल वर्षाले प्रभावित भएको थियो । समान ७ अंक भए पनि सुपर–१२ समूह ‘१’ बाट न्युजिल्यान्ड र इंग्ल्यान्ड सेमिफाइनलमा पुगे । अष्ट्रेलिया नेट रनरेटको कारण बाहिरिएको थियो । न्युजिल्यान्ड गएको वर्ष यूएईमा भएको टी–२० विश्वकपको फाइनलमा पुगेको थियो । तर अस्ट्रेलियासँग पराजित भयो । दोस्रो सेमिफाइनलमा भोलि भारत र इंल्याण्डबीच खेल हुनेछ । फाइनल खेल आइतबार हुनेछ ।